प्रतीकात्मक तस्बिर
बागलुङ–नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ।
वितरण केन्द्रले विद्युत् महसुल समयमा नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता तिर्न ताकेता गरेको हो। गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो।
मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखी लाइन काट्ने अभियान थालेको केन्द्रले जनाएको छ।
लाइन काट्न थालेपछि महसुल तिर्न बाँकी रहेका ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले बताए।
व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको करिब ४१ लाख रुपैयाँ बक्यौता रकम उठेको गोसलीले बताए। लाइन काटिएकामध्ये केही ग्राहकले भने महसुल बुझाउन आएका छैनन्।
विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम प्राधिकरणले ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी काट्न पाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।