फाइल तस्बिर
कञ्चनपुर–पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ।
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सीमबाट नेपाल भित्रिएका ८९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको हो।
यसैगरी, गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ। कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ। दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको संख्या एक हजारको हाराहारीमा रहँदै आएको छ।
भारतमा कोरोना संक्रमण बढेपछि मजदूरीका लागि गएकाहरु स्वदेश फर्कन थालेका हुन् ।
यसैबीच, महामारीको जोखिम बढिरहेकै समयमा भारततर्फ जानेको संख्यासमेत बढ्दो रुपमा रहेको छ। शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५ भारतीय भारततर्फ गएका छन्। गड्डाचौकीबाट ३ सय भारतीय र १५० नेपाली बाहिरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।