प्रतीकात्मक तस्बिर
कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि एक सिङ्गे गैंडा गणना कार्य सुरु भएको छ। गैंडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ।
निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैंडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए। ‘गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी सुरु गरेका छौँ’ उनले भने, ‘गणनासँगै गैंडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइनेछ ।’
प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैंडा गणनाको कार्य हुँदै आएको छ। निकुञ्जमा १७ वटा गैंडा संरक्षित छन्। तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी रहेको उनले बताए।
गैंडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैंडाको संख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।