फाइल तस्बिर
काठमाडौं–काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु क्षेबाट पनि मेलम्चीको पानी वितरण सुरु गरेको छ। बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएको र आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ।
आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायत स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। ‘अब बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ, उनले भने, ‘केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ।’
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ। पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए। महाराजगञ्ज पोखरीमा पनि बिहीबारदेखि नै पानी पठाउन थालिएको उयनको भनाइ छ।
यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो। पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो ।
एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ। अर्काे प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए।
दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ/साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।