काठमाडौं- बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मनशाय पत्र लिइ मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरेका छन्।
आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको बताए। ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी भएका उनले भने, ‘सरकारी शुल्कमा गुणस्तरीय डाक्टर पढाउन कलेज सञ्चालन गर्न सम्बन्धन पाऊँ भन्दा मैले कुनै अपराध त गरिनँ होल?’ आफ्नो सम्बन्धनका माग नीति र विधिसम्वत् उनको दाबी छ।
‘मैले चिकित्सा ऐन जारी हुनुपूर्व नै सम्बन्धनका लागि निवेदन दिएका हुँ। मनशायपत्र लिइ मेडिकल कलेज सञ्चलनार्थ आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा भइसकेको छ । एमबिबिएस, एमडी/एमएस अध्ययन गर्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्न र विशेष गरी प्रदेश १ का प्रतिभाशाली छात्रछात्राको डाक्टर बन्ने चाहनालाई पूरा गर्ने चाहना हो।’
पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौं जानुपर्ने अवस्था लगभग अन्त्य भएको उनले बताए।
कार्यक्रममा सहभागी एबिबिएस तहमा अध्ययनरत छात्रछात्राले भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन सरकारसँग माग गरे।
उनीहरूले जनसङ्ख्या र बिरामी अनुपातमा चिकित्सक उत्पादनका लागि मेडिकल कलेजको अझै आवश्यकता भएकामा जोड दिँदै सम्बन्धन दिँदा गुणस्तर र शुल्कको स्पष्ट व्यवस्था गर्न सुझावसमेत दिए।
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चिकित्सा शिक्षा र स्वास्थ्यमा योगदान गर्छु भन्नेका लागि सरकारले बाधक होइन, सहजीकरण गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।