काठमाडौं- शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ।
स्थिर रहेको वायुमण्डल आगामी दुई-तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताए। उनका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचलेका कारण वायुप्रदूषण बढेको हो। प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन। धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन्।
यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमासमेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री र अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १.९ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।