काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको छलफल सकारात्मक हुँदै गएको बताएका छन्।
जसपासँग वार्ता गर्न बनाएको सरकारी कार्यदलका सदस्यसमेत रहेका नेम्वाङले छलफललाई निरन्तरता दिने सहमति भएको बताए।
'जसपासँगको वार्ता निष्कर्षमा पुगेको छैन। यो छलफललाई निरन्तरता दिने भन्ने भएको छ। वार्ता सकारात्मक हुँदै गएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै नेम्वाङले भने,‘जसपाका मागप्रति सरकार सकारात्मक छ। सहमति हुने वातावरण बन्दै गएको छ।’
जसपाले रेशम चौधरी रिहा गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, मधेस आन्दोलन मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको नेम्वाङले बताए।
जसपासँग छलफल गर्न सरकारी पक्षबाट गठित कार्यदलमा नेम्वाङसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन्। यस्तै जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्। सरकारी कार्यदल र जसपा कार्यदलबीच यो तेस्रो पटक छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।