दाङ–उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरणमा प्रतिकूल असर पार्ने कार्य नियन्त्रणका लागि उपकरणको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको हो।
पीडितको रिट निवदेनमाथि सुनुवाइ गर्दै घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिका नाममा उद्योगबाट उत्पन्न हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण तत्काल नियन्त्रण गरेर मात्रै उद्योग चलाउन अन्तरिम आदेश जारी गरेको हो।
घोराही सिमेन्ट प्रालि र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई दायर रिटउपर सुनुवाइ गर्दै अदालतले सिमेन्ट उद्योगलाई तत्काल धुवाँ, धुलो र वातावरणीय प्रदूषण नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरको हो।
अदालतले जनसंख्या तथा वातावरण मन्त्रालय वातावरण विभागबाट भएको निरीक्षण प्रतिवेदनमा औँल्याइएका वातावरणमा प्रतिकूल असर पार्ने कार्यलाई नियन्त्रण गर्नका लागि ब्याग फिल्टर, विइन्ट ब्रेकिङ वालजस्ता उपकरण तत्काल जडान तथा व्यवस्थित गर्न आदेश जारी गरेको छ।
त्यसका साथै सडकमा धुलो नउड्ने गरी पानीको फोहरा व्यवस्थापनसमेत तत्काल गर्नु÷गराउनु भनी घोराही सिमेन्ट प्रालिका नाममा जारी अन्तरिम आदेशमा भनिएको छ।
उच्च अदालतको आदेशले उद्योगबाट उत्पन्न धुलो, धुवाँको प्रदूषणका कारणले वातावरण, स्वास्थ्य प्रजनन र खाद्य अधिकारमा असर पारेको प्रमाणित गरिदिएको निवेदकहरुले प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।