जुम्ला- एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिन मुश्किल पर्थ्यो। शव परीक्षण गर्न हप्तादिन कुर्नुपर्ने अवस्था थियो। कर्णालीमा चिकित्सकदेखि कर्मचारी आउने मान्दैनथिए। सरकारले कर्मचारीलाई कर्णालीमा सरुवा गरेपछि कारबाही गरेको सम्झने र आफूलाई हिनताबोध गर्ने गरेका थिए।
तर, अब दुर्गमले परिचित कर्णालीमा एमडीएमएस तहकाे चिकित्सा शिक्षाको अध्ययन सुरु भएको छ। भक्तपुरका डा रहिस कोजु जनरल ‘प्राक्टिस इमरजेन्सी मेडिसन’ पढ्न कर्णाली पुगेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डाक्टरी पढ्न उनी जुम्ला पुगेका हुन्।
उनी छात्रवृत्तिमा कर्णालीमा आएर पढ्न थालेका हुन्। चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको पढाइका लागि पाँच कोटा दिएपछि गत चैत १ गतेदेखि पठनपाठन सुरु भएको छ।
महङ्गो शुल्क तिरेर सुविधा सम्पन्न ठाउँमा गएर चिकित्सा शिक्षा पढ्नुपर्ने कर्णालीको बाध्यता थियो। अब भने यो बाध्यता अब हटेको छ। अब कर्णालीले चिकित्सक उत्पादन गरेर नेपालभर पठाउन सक्ने अवस्था आएपछि कर्णालीका बासिन्दा निकै उत्साहित छन्।
चिकित्सा शिक्षा आयोगले ‘जनरल प्राक्टिस इमरजेन्सी मेडिसन’मा तीन, एनएसथेसिया एक, क्रिटिकल केयरमा एक र पिडाट्रिक्समा एक पढ्न पाउने गरी कोटा स्वीकृत गरेको थियो। तीमध्ये अहिले जनरल प्राक्टिसमा दुई र एनएसथेसिया पढ्न एक जना भर्ना भएका छन्। यी सबै विषयमा पठनपाठन हुने प्रतिष्ठानले जनाएको छ।
कपिलवस्तुका डा. बेदकुमार चौधरी कर्णालीमा स्नातकोत्तर तहको डक्टरी पढ्न पाउँदा निकै खुशी छन्। उनले भने, ‘कर्णालीमा पहिलो ब्याज पढाइ हुन थालेको छ। यो ब्याज निकै राम्रो हुनेछ। सुगमबाट दुर्गम कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहालीलाग्दो देखिन्छ। कर्णालीले डक्टरी पढाउन थालिसक्यो। कर्णालीमा पढेर कर्णालीमै स्वास्थ्य सेवा दिने धोको छ।’
कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठले कर्णालीमा डक्टरीको पठनपाठन हुनु निकै सुनौलो र ऐतिहासिक भएको बताए। 'डाक्टर पढ्न लाखौँ खर्च गरेर अन्यत्र जिल्लामा जानुपर्ने अवस्था थियो। शव परीक्षण गर्न सुर्खेत, नेपालगञ्ज जानुपर्थ्यो। अब कर्णालीमै डाक्टरी पढाइ हुनु सुखद क्षण हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।