काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा सूचनामूलक पिइटी कलेक्सन बिन स्थापना हुने भएको छ। विश्व रिसाइक्लिङ दिवसका अवसरमा कोकाकोला र डोको रिसाइकलर्सले १० स्थानमा यस्ता बिन राख्ने घोषणा गरेको हो।
‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान अन्तर्गत प्रयोग भइसकेका बोतल संकलन गर्ने उद्देश्यसहित बिन राखिएको बताइएको छ। यो अभियानले प्रयोग भइसकेका बोतल प्रशोधन गरेपछि पुनः प्रयोगका लागि योग्य हुन्छन् भन्नेबारे चेतना फैलाउने विश्वास कम्पनीको छ।
प्रयोग भएका बोतल संकलनका लागि यस्ता बिन स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटनदरबार स्क्वायर, त्रिभुवन विश्वविद्यालय र ललितपुर महानगरपालिका सार्वजनिक पार्कमा राखिने बताइएको छ। यी क्षेत्रमा प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिएको छ।
‘त्रिभुवन विश्वविद्यालयमा राखिएको बिनमा विद्यार्थी, प्राध्यापक र प्रशासनिक कर्मचारीले सकारात्मक प्रतिक्रिया दिए,’ त्रिभुवन विश्वविद्यालयका प्रोक्टर अबिलाल शाहले भने, ‘विश्वविद्यालयमा राखिएको डिब्बा प्रायः सबैले प्रयोग गर्न भएकाले दुवै विद्यार्थी र आगन्तुकहरुका लागि यो उपयोगी भएको छ। हामी भविष्यमा अन्य सहयोगका लागि समेत तत्पर छौं।’
डिस्पोजल गर्नुभन्दा अगाडि बोतल खाली र सफा छन् वा छैनन्, कुल्चिएको छ वा छैन भनी सुनिश्चित गरिने बताइएको छ। सार्वजनिक जागरुकताका लागि डिस्पोजलको उचित चरण र प्रयोग भइसकेका बोतलको रिसाइकल प्रक्रियाबारे बिनमा विभिन्न जानकारी लेखिएको आयोजकले जनाएको छ।
प्रयोग भइसकेका बोतल पछि अन्य कामका लागि उपयोग गर्न सकिने भएकाले यसलाई फोहोरका रुपमा वर्गीकरण नगरिएको बताइएको छ।
‘रिसाइक्लिङका लागि सार्वजनिक पूर्वाधार प्रदान गर्न चाहन्छौं र रिसाइक्लिङ गर्दा हुने फाइदाबारे मानिसलाई शिक्षित पार्न चाहन्छौं,’ डोको रिसाइक्लर्सका सहसंस्थापक राघवेन्द्र महतोले भने।
‘हामीले पर्यावरण कर्मचारीका रुपमा आफूलाई गम्भीरताका साथ लिएका छौं,’ बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘जसका लागि हामी नेपालमा फोहोरजन्य वस्तुको पुनःप्रयोगका लागि नयाँ र सुधारिएका उपायहरू अपनाउनेछौं।’
हरेक साता डोको रिसाइक्लर्सले प्रयोग भइसकेका बोतल संकलन गर्ने र यसलाई पुनः प्रयोग योग्य बनाउनका लागि निश्चित स्थानमा पठाइने बताइएको छ। फोहोरजन्य सामग्रीहरूलाई प्रशोधन गरेर नयाँ बोतल‚ कन्टेनर र विभिन्न कपडा‚ कार्पेट बनाउन सकिन्छ। हालसम्म डोको रिसाइक्लर्सले करिब दुई हजार पिइटी बोतल संकलन गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।