देउखुरी- दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ। जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान सुरु गरेको थियो।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। त्यस्तै गत फागुन २३ गतेदेखि दोस्रो चरणमा कर्मचारी, पत्रकार र जनप्रतिनिधि गरी चार हजार ३३३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
त्यस्तै फागुन २० गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो।
पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी तीन अस्पतालका खोप केन्द्रमा खोप लगाइएको तथा दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका १०८ स्वास्थ्यचौकीमध्ये ७० स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।