काठमाडौं–युवालाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याज ऋण उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ।
चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सहमति भएसँगै कर्जा उपलब्ध गराउन थालिएको हो।
सहमतिसँगै नगरपालिकाका ३ सय युवालाई बिनाधितो र बिनाब्याज ३ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। राष्ट्रिय युवा परिषद्ले ऋण लिने युवालाई १० समूहमा विभाजन गरी तालीमसमेत दिन थालेको छ।
तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा कर्जा दिने बतायएको छ।
कर्जाको ब्याज नगरपालिकाले तिर्ने सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए। उद्यमशीलताका लागि युवालाई बिनाब्याज ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।