विराटनगर- प्रदेश १ का १४ वटै जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन्। प्रदेश तथ्याङ्क कार्यालयका प्रमुख तीर्थराज बरालले उक्त जानकारी दिएका हुन्।
बरालका अनुसार मोरङका दुई स्थान बेलबारी र विराटनगरमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा आज बसेको जिल्ला जनगणना समितिको बैठकले जनगणनाका निम्ति केन्द्र तय गरेको उनले बताए।
बैठकले कार्यक्रमको प्रचारप्रसार गर्ने निर्णय गर्नाका साथै आगामी वैशाख १६ देखि २२ गतेसम्म जनगणना सुपरीवेक्षकको तालिम गरी वैशाख २६ देखि जेठ १४ गतेसम्म सूचीकरणको काम गर्ने र आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकले घरघरमा गएर गणना गर्ने निर्णय गरिएको प्रमुख बरालले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी निरौलाले जनगणनाका लागि आवश्यक पर्ने सबै किसिमको सुरक्षाको तयारी भइसकेको बताए। मोरङमा १५० सुपरीवेक्षक र ५९० गणक नियुक्त गरिएको प्रमुख बरालले बताए।
‘मेरो गणना मेरो सहभागिता’ नारा दिइएको राष्ट्रिय जनगणना-२०७८ मुलुकको १२औँ जनगणना हो। राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या मात्र नभएर सबै सूचकाङ्कको अभिलेख हुने र यसबाट राष्ट्रिय नीति निर्माण गर्न सरकारलाई सहज हुने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।