काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपव्याख्या गरेको टिप्पणी गरेका छन्।
बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले ओलीले विदेशीको सेवा गर्ने गरेको तर अरुलाई दोष दिने गरेको पनि बताए।
'आफैं बहुदलीय जनवाद हटाउनुभयो। हामीलाई प्रश्न गर्ने? विदेशी तत्वको सेवा गर्नुभयो। दोष अरुलाई थप्नुभयो। झुठको खेती गर्नुभयो। भ्रम पैदा गर्नुभयो', नेपालले भने, 'एमाले हुने ओली मात्रै होइन,हामी पनि हो। ओली मात्रै एमाले होइनन्।'
उनले अदालतले जन्मेको बच्चालाई पेटभित्र फर्काउने काम गरेको टिप्पणी समेत गरे।
'प्रथम अध्यक्ष कहिले भए उनी? आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता गरेको ओलीले हो। हामीले हो त्यो सम्झौता गरेको? दोषी ओली हो। हामीले विधानको पालना गर भन्नु गलत हो?' नेपालले प्रश्न गरे।
फागुन २८ को निर्णय फिर्ता लिएको भए भेला गर्दैनथियौं
सम्बोधनका क्रममा एमाले नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गते बालुवाटारमा गरेको भेलाका निर्णय फिर्ता लिएको भए आजको भेला आफूहरूले नगर्ने बताए।
‘२८ गतको भेलाका निर्णय फिर्ता लिनुस्, हामी भेला रोक्छौं भनेका हौं। उहाँले मान्नुभएन। अब युवा र महिलाको राष्ट्रिय भेला गर्छौं’, नेपालले भने।
उनले बालुवाटारको भेलामा आफूहरूलाई नबोलाइएको पनि बताए। उनले भने, ‘त्यो बैठकमा महासचिव ईश्वर पोखरेलले बोलाउनु भएन। बोलाउने कुरा गरेर पनि बोलाइएन।’
आफूले एक्लै भेटेको भए ओलीले पद जोगाउन माधवले मसँग भनेको भन्दै हिँड्ने नेपालको टिप्पणी छ। ‘मैले बालुवाटार आउँदिन भनें। उहाँले म बाहिर जान मिल्दैन भन्नुभयो। मैले म एक्लै आउँदिन मैले भनें’, नेपालले भने, ‘एक्लै भेटेको भए पद जोगाइदिनू माधवले मसँग भनेको भन्दै हिँड्थे। त्यसकारण एक्लै गइनँ। पाँच जना धुम्बाराहीमा भेट्न गयौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।