कञ्चनपुर–कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुरको साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको थियो।
घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
उधारोमा १५ सय रुपैयाँमा भैँसी किनेर पैसा नतिरेको विषयमा विवाद भई झगडा र कुटपिट हुँदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो। वारदातपछि उनी फरार भएका थिए।
पक्राउ गरेका तामाङलाई आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।