चितवन–यही चैत ९ गतेदेखि सुरु हुने राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुरु गरिने बताइएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट सुरु गरिने गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ।
चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ। गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना सुरु हुनेछ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणक छनोटको काम थालिएको छ। गणनामा ४० वटा हात्ती प्रयोग हुने उनले बताए।
बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइँदै छ। यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिने छन्। गणनामा खटिनेका लागि यही चैत ६ र ७ गते सौराहामा तालिम दिइने उनले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरुको बासस्थानको व्यवस्थापनलगायतका तयारी भइरहेको छ। निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उनले जानकारी दिए।
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुँदै छ। विभागका दुई कर्मचारी तयारीका लागि यहाँ आइसकेका छन्। विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा वातावरण मन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ।
आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ। गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिममा स्थगन भएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा गैँडा गणना गरिँदै छ। यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।