लमजुङ- चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन्। उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मंगलबार दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका तीन विद्यार्थी घाइते भएका हुन्। उनीहरुलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
उनका अनुसार सो विद्यालयका कक्षा १० मा अध्ययनरत छविन्द्र गुरुङ र मनबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरुको उद्धारबापत लाग्ने खर्च सो गाउँपालिकाले ब्यहोर्ने प्रजिअ शर्माको भनाइ छ।
उनीहरु विद्यालयको कक्षाकोठामै चट्याङ लागेर घाइते भएका र सोही कक्षामा रहेका अन्य विद्यार्थीलाई भने केही नभएको वडाध्यक्ष खेमबहादुर गुरुङले बताए। घाइतेको हातखुट्टा र शरीरको अन्य भागमा चोट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।