फाइल तस्वीर म्याग्दी–अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो। सुरुङ, पेनस्टक पाइपलाइन र विद्युतगृहको परीक्षण सकेर उत्पादनको तयारी गरिएको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जानकारी दिए।
सन् २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले निलगिरि र घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ। दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ।
बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ।
५ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले १ अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यसैगरी आयोजनामा नविल बैंकको १ अर्ब, लक्ष्मी बैंकको ४० करोड, सिद्धार्थ बैंकको ३० करोड ऋण लगानी रहेको छ । आयोजनाले साधारण सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ। मिस्ट्रीखोला म्याग्दीकोे सबैभन्दा ठूलो आयोजना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।