काठमाडौं–कमलपोखरी पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ। पोखरी निर्माणको काम सम्पन्न गरी अहिले पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ। एक महिनाभित्र सबै सक्ने गरी पुनर्निर्माणको काम भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
सौन्दर्यको कामसँगै काठका कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए। अबको केही दिनभित्रै पोखरीमा पानी राखिने उनले बताए। पुनर्निर्माणपछिको सुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ।
एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनर्निर्माणका लागि शिलान्यास भएको थियो । पोखरी पुनर्निर्माणाको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको थियो।
निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ। उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ। पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछ। वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ ।
त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।