फाइल तस्वीर काठमाडाैं–ल्होसारका कारण बन्द भएको चिनियाँ नाका पुनः सञ्चालनमा आएको छ। नाका सञ्चालन भएसँगै दैनिकरूपमा आयातसमेत बढ्दै छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।
पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माण सामग्री तथा तयारी पोशाक भित्रिने गरेका छन्। कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण लामो समय नाका बन्द भएका थिए।
चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युतका लागि आवश्यक सामग्री आएको उनले बताए।
पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहज भने नभएको उनको भनाइ छ। चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउछँन्। कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।
तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ। ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन्।
आयात केही बढे पनि रसुवागढी र तातोपानी नाकाबाट निर्यात भने ठप्प छ। रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै बन्द भएको निर्यात हालसम्म पुनः सञ्चालन हुनसकेको छैन। चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।