राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी राजनीतिलाई बुझ्ने थाेरै कलाकारमध्ये पर्छन्। सामाजिक सञ्जालमा देशकाे राजनीतिक अवस्थाबारे बेला बेला उनले गरेका टिप्पणीहरू देख्न सकिन्छ। 'लाऊ चेली सुन्दर लाऊ'देखि 'अझै नि लोकतन्त्र आको छैन है' जस्ता विद्रोही र राजनीतिक चेत बोकेका उनका थुप्रै गीत छन्।
माया, प्रेमका गीत रचना र गायनमा पनि उत्तिकै अब्बल मानिने गायक पंगेनी गएको प्रतिनिधि सभा निर्वाचनमा 'सैं एमाले मैं पनि एमाले' गीत गाउँदा विवादित समेत बने। तर, उनी आफू कुनै पनि दलमा आवद्ध नभएको बताउँछन्। व्यक्तिगत फाइदा, बेफाइदाका लागि त्यो गीत नगाएको बताउने उनी उक्त गीत गाएपछि आफूमाथि राम्रै प्रहार स्वीकार्छन्। दर्शकको स्वतन्त्र भएर बसोस् भन्ने इच्छालाई सम्मान गर्ने उनी बताउँछन्।
'म राजनीति गर्दिनँ, बुझ्न खोज्दाको परिणाम हो, यसलाई स्वीकार गर्नैपर्छ,' उनको ठम्याइ छ। राजनीति गर्नेहरू स्वार्थी हुने उनको बुझाइ छ। स्वार्थी शब्दको पर्यायवाची शब्द नेतालाई राखिदिँदा हुने तर्क गरेका गायक पंगेनीसँग नेपाल लाइभका लागि पुष्पा थपलियाले गरेको कुराकानीको सारसंक्षेप :
कसरी चल्दै छ दिनचर्या?
यही कलाको क्षेत्रमा व्यस्त छु। कोभिडको महामारीले लामो समयसम्म पुर्याएको क्षतिलाई ढाकछोप गर्नपनि व्यस्त हुनैपर्नेछ। नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको दोहोरी च्याम्पियनको सञ्चालकको भूमिका निभाउँदै छु। यसले पनि अलि व्यस्त बनाएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष भएका नाताले त्यसमा पनि केही समय दिइरहेको छु। साथै, खेलकुदमा कहिले ब्याडमिन्टन, कहिले भलिबल, कहिले फुटसल त कहिले क्रिकेटले पनि व्यस्त बनाइरहेको छ। समग्रमा जिन्दगी रमाइलोसँग नै बितिरहेको छ ! (हाँस्दै) रमाइलो मानेपछि रमाइलै छ भनौं।
कोभिडले चाहिँ कत्तिको प्रभाव पार्यो तपाईंलाईं?
यसले मलाई मात्रै हैन, संसारलाई नै प्रभाव पारेको छ। स्टेजमा रमाएको, स्टेजले बाँचेको एउटा कलाकारलाई कतिसम्म नराम्रो प्रभाव पर्यो होला भनेर तपाईं आफैले पनि अनुमान लगाउन सक्नुहुन्छ। कहिले देश त कहिले विदेशका कार्यक्रममा घुमिराख्नुपर्ने, डुलिराख्नुपर्ने हामी कलाकारलाई एकै ठाउँमा थुनिनुपर्दा निकै पीडा भयो। तर, विस्तारै बानी पनि पर्यो।
दोहोरी गायक र कार्यक्रम प्रस्तोता दुवैको रुपमा दर्शकले चिनिसकेका छन्। यो दुईवटा एकै संसार रहेछन् कि फरक-फरक?
अहिले दोहोरी च्याम्पीयन मात्रै हैन, मैले पहिले पनि सुसेली लगायतका कार्यक्रम चलाइसकेको छु। गायक मात्रै बन्दा आफ्ना विचार राख्न पाइँदैन भने प्रस्तोता बन्दा मनमा लागेको कुरा प्रस्तुत गर्न पाइन्छ। फेरि गतिलो गर्न सकेन भने चिप्लने सम्भावना पनि उत्तिकै छ। अहिले त झनै जसरी हुन्छ चिप्ल्याउने, त्यसबाट गाली गलौज खुवाउने र भ्यूज बढाउने प्रस्तोता पनि टन्नै छन्। म भने बरु स्टेजमा कहिलेकाहीँ चिप्ले हुँला, अरुको खुट्टा तान्ने काम गर्दिनँ। त्यो राम्रो पत्रकारिता भित्र पनि पर्दैन।
सामाजिक सञ्जालमा सक्रिय कलाकारमध्ये एक तपाईं पनि हुनुहुन्छ। गीत संगीतको मापदण्डको कुरा पनि उठाउनुभएको थियो। खास कुरा के हो?
चोरी भएका गीत र संगितका कुरा गरेको हुँ। यो नेपाली चलचित्र क्षेत्रका गीतदेखि हरेक संगीतको क्षेत्रमा भइरहेको कुरा हो। कहिलेकाहीँ के हुन्छ भने, खेम सेन्चुरी, एकनारायण भण्डारी, अमेरिकामा रहेका भगवान भण्डारी लगायत र म नेपालमा बसेको बद्री पंगेनीको भावना मिल्न जान सक्छ। त्यो जानजान हैन, अन्जानमै पनि हुन्छ। यसैका लागि केही मापदण्ड बनाउन जरुरी छ। नत्र त हामी सबै चोर नै चोर हुन्छौं। यो पीडा सबैलाई छ। म अलि बढी बोल्छु, गाली खाइहाल्छु। अरु बोल्दैनन्, गाली खाँदैनन्। लोक गीतमा कति शब्द मिले या संगीत मिले त्यसलाई चोरीको आरोप लगाउन भन्ने नै गम्भीर मुद्दा हो नि।
पहिले पहिले संगीतकार नभनेर संकलक भनिन्थ्यो नि! हैन र लोक गीतका लागि?
हो। तर, त्यसो लेख्दा रोयल्टीको समस्या देखियो। मैले गाएको 'मन थिएन जोगी बन्न'लाई भन्ने गीतमा मैले संकलक राखेको छु। तर, त्यस्तै संगीत भएको अर्को ल्याए पो मैले रोयल्टी नपाउने हो, त्यो छैन भने त मैले मेरो गीतको रोयल्टी पाउनुपर्छ नि! त्यस्तै कुरा नमिलेर संकलकको ठाउँमा संगीत नै राख्ने गरिएको हो।
लोक संगीतको क्षेत्रमा पहिले र अहिलेको कुरा गर्दा कस्तो फरक पाउनुभएको छ?
यो सबैले सोध्ने प्रश्न हो। फरक पहिले एक टेकमै काम तमाम गर्नुपर्थ्यो। अहिले प्रविधिले सजिलो बनाएको छ। सजिलोसंँगै अल्छि पनि बनाएको छ भन्छु म त। किनभने यो भन्दा अगाडिको गीत 'मेरो छोरी तिम्रो घरमा भान्छे चलेन' भन्ने स्टुडियोमा एक्कैछिनमा तयार पारिएको हो। त्यसले राम्रै सफलता हात पार्यो तर समय लगाएर मिहिनेत गरेको भए यो एउटा सम्झन लायकको गीत हुन्थ्यो। पहिले म वर्षमा एउटा गीत निकाल्थें। अहिले महिनामा एउटा भइरहेको छ। यो पनि निकै फरक कुरा हो।
वर्तमान राजनीतिको कुरा गरौं। कलाकारले राजनीति बुझ्न कत्तिको जरुरी छ र देशको राजनीतिले कलाकारलाई कस्तो असर पार्ला जस्तो लाग्छ?
यसको बारेमा नबोलौं जस्तो लाग्यो।
सैं पनि एमाले, मैं पनि एमाले गाउँदा तपाईंलाई फाइदा भयो कि बेफाइदा?
कस्तो छ भने, हरेक मानिसले पेशासँगै राजनीति गरेको समाजले पचाउँछ। तर, कलाकार भएर विचारको कुरा गर्छस् भन्छन्। मैले मेरो व्यक्तिगत फाइदा, बेफाइदाका लागि गीत गाएको हैन। तर, ममाथि यो गीतले राम्रै प्रहार भयो। गीत नचलेको भए गाली खाइन्नथ्यो होला। तर, गीत चल्यो मलाई घाटा भयो। मैले गाली खाएँ। दर्शकको स्वतन्त्र भएर बसोस् भन्ने इच्छालाई सम्मान गर्छु। म राजनीति गर्दिनँ। बुझ्न खोज्दाको परिणाम हुन्, यसलाई स्वीकार गर्नैपर्छ।
गायिका कोमल वली अहिले कानुन बनाउने ठाउँमा (संसद्) पुग्नुभएको छ। उहाँका विषयमा उहाँकै पार्टीका नेता रघुजी पन्तबाट हालै आएको अभिव्यक्तिबारे के भन्नुहुन्छ? (भलै उहाँले सञ्चारमाध्यमार्फत् माफी माग्नुभएको छ)
कोमल वलीलाई राघुजी पन्तले जुन कुरा बोल्नुभयो त्यो खेदजनक छ। महिला भएकै कारण, कलाकार भएकै कारण त्यसरी मानहानी गर्न मिल्दैन। यहाँ त उहाँ महिला भन्दा पनि कलाकार भएका कारण त्यस्तो मानहानी खेपिरहनुभएको छ कि जस्तो लाग्छ। राजनीति भनेकै यस्तै रहेछ। हामीले उनीहरूका गीत गाइराख्दा प्रसंशा गर्ने अनि हामीलाई पनि नेतृत्वमा पुर्याऊ भन्दा गीत गाउनेले देश सम्हाल्ने? भन्ने। राजनीति गर्नेहरु निकै स्वार्थी हुँदा रहेछन्। स्वार्थी शब्दको पर्यायवाची शब्द यदि नेपालमा बनेको छैन भने, नेतालाई राखिदिँदा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।