काठमाडाैं–सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ।
भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २ सय जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए।
बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालनमा छन्। त्यसैगरी, बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराइएको छ।
यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका–१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने बताइएको छ।
ती जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।