• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एउटा महावीरले देखाएको सपना, पछ्याउँदैछन् धेरै ‘महावीरहरू’

64x64
ऋग्वेद शर्मा शनिबार, फागुन २२, २०७७  ०९:१०
1140x725

काठमाडौं– उनीहरू सोच्छन्। सपना देख्छन्। कमी बुझ्छन्। त्यसलाई पूरा गर्ने बाटो खोज्छन्। धैर्य गरेर मिहिनेतका साथ। सोचेको नतिजा भेट्न ध्यान गरे जस्तो काममा एकचित्त छन्। ट्याँआआ, टुँउउउँ, झिरररर्र... ड्याआङ डुङको आवाज काममा मन लगाउने संगीत बनिरहे जस्तो देखिन्छ। 

राष्ट्रिय आविष्कार केन्द्रमा महावीर पुनसँगै हरेक दिन सपना बाँच्ने केही पौरखी यसैगरी सोचको बाटो खोजिरहेका भेटिन्छन्। केही गर्ने हुटहुटीलाई उद्यममा बदलिरहेका छन्। बदल्ने प्रयासमा छन्। आफूसँगै धेरैलाई त्यसैमा जोड्न सक्ने पद्धति भेटिरहेका छन्। भेट्ने प्रयासमा छन्। 

धातुको काममा मान्छेको सीप मेसिनसँग जोड्ने प्रयासमा छन् मुकेश सुनार। पानीको अभावले रन्थनिएको गाउँमा बिजुली र सोलारबिना पानी तान्ने पम्पको सोचमा घोत्लिइरहेका छन् दानबहादुर घर्ती मगर। सोलार ड्रायरमा काम गरिरहेका छन् अरुण फुयाल। कोभिडको समयदेखि दर्जनौँ काममा लागिसके मनोज मालाकार। राजेश लिम्बुले कफी भुट्ने मेसिन बनाइसक्न लागे। यस्तै अरु धेरै फरक–फरक काममा लागिरहेकै छन्। 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को खाली स्थानमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएदेखि नै यस्ता धेरैले सपनाको बाटो हिँड्ने माध्यम पाइरहेका छन्। स्थान पाइरहेका छन्। ज्ञान र सीपको साथ पाइरहेका छन्। सोचमा रहेको नवीनता व्यवहारमा भोगिरहेका छन्। हरसमय उनीहरूसँगै छन्, म्यागासेसे विजेता महावीर पुन। 

आविष्कार केन्द्रमा मिहिनेत गरिरहेका युवा देखेर महावीर खुसी छन्। उस्तै दुःखी पनि छन्, यत्तिका समयमा किन सपना र सोच भएका युवा यति थोरै छन् भन्नेमा। आविष्कार केन्द्रमा केही गर्न चाहिन्छ सोच, सीप र जाँगर। यसमध्ये कुनै एक नहुँदा नयाँ बाटो भेट्न सकिँदैन। देखेको लक्ष्य पाइँदैन। महावीरलाई चिन्ता छ न समाजले त्यो सोच, सीप र जाँगरलाई उद्यममा बदल्ने प्रयास गरेको छ, न त विश्वविद्यालय नै त्यसबारे सोच्छ। सरकारसँगको भर त धेरैअघि हो टुटेको। 

आविष्कार केन्द्रमा अहिले जतिले मिहिनेत गरिरहेका छन् उनीहरू सोचसँगै सीप र जाँगर पनि देखाइरहेका छन्। केही गर्ने लक्ष्य स्पष्ट बनाइरहेका छन्। यसैले महावीरले देखाएको बाटोमा यिनै हुन् नयाँ ‘महावीरहरू’। 

एकोहोरो के बाँच्नु?
अछाम, चौरपाटी गाउँपालिकाबाट काठमाडौं कीर्तिपुर आएर डेढ महिनादेखि घोटिइरहेका छन् २२ वर्षका मुकेश सुनार। उनको इच्छा छ, गाउँमा धातुलाई आकार दिइरहेका श्रमिकलाई मेसिनसँग जोड्ने। उनीहरूको कामलाई सहज रुपमा उद्यम बनाउने। त्यसका लागि उनले यतिखेर बिजुलीबाट चल्ने फलाम पिट्ने घन बनाइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गाउँमा मेसिनको प्रयोग नगरीकन आफ्नो ज्ञान र सीप भएका मान्छे धेरै छन् जो मेटलको काम गरिरहेका छन्। ५०÷६० जना नै होलान् गाउँमा जो त्यो काम राम्ररी गर्न जान्दछन्। त्यसमा उनीहरू पूर्ण छन्। जति काम गर्छन् आजको लागि गर्छन्। आज खानको लागि काम गर्ने चलन छ,’ आविष्कार केन्द्रमा काम गरिरहेका मुकेशले थोरै समय विश्राम लिएर सुनाए। 

‘ती सबैलाई एकै ठाउँमा जोडेर मेसिनसँग राखेर समग्रमा काम गर्ने मन छ। जति सकिन्छ सहज बनाउने प्रयास गर्नु छ। सधैँभरी घन, हतौंडा उठाएर काम गर्न त सकिँदैन नि। केही पैसा पनि होस् र मिहिनेत पनि कम परोस् भन्ने सोचिरहेको छु,’ उनले भने। 

आविष्कार केन्द्रमा फलाम पिटिरहेका धेरै त मेकानिकल इन्जिनियरिङका विद्यार्थी नै छन्। त्यसमा मुकेश अपवाद हुन्। फार्मेसी पढेका उनी गाउँमा देखेको दुःखले आफूलाई मात्र हुने गरी बाँच्न सकेनन्। औषधी पसलमा काम गर्न छाडेर फलाम पिट्ने मेसिन बनाउन थाले। सबैलाई हुने गरी केही गरौँ भन्ने सोचे। सानैमा सिकेको सीपलाई उद्यममा बदल्ने प्रयासमा लागे। 

मुकेशका बुबा सुनचाँदीका गहना बनाउने काम गर्थे। सुन चाँदीका गहना, तामा पित्तलको गाग्री बनाउने र कृषि औजार बनाउने सबै काम उनले सानैदेखि जाने। वरपर त्यही काम गर्नेहरू हेरेर हुर्किए। तब त कामको पुरातन शैलीलाई नयाँ मेसिनले सहज बनाउने प्रयासमा छन्।

‘यहाँबाट जति सकिन्छ त्यति मेसिन बनाएर लैजाने र गाउँमा भएका अरुलाई रोजगारी दिने मन छ। उनीहरूले जुन काम गर्न सक्छन् त्यो काम बजारसँग जोड्न सकिन्छ कि जस्तो लाग्छ,’ उनी भन्छन्, ‘यहाँबाट काम नलाग्ने भनिएका फलामसमेत भारत लगेर काम लाग्ने मेसिन बनाएर नेपालमा नै बेचिन्छ। हामीसँग केही रुपैयाँ किलोमा फलाम लगेर उनीहरूले त्यसलाई हजारौँको बनाएर यहाँ बेच्छन्। त्यो अवस्था अन्त्य होस् भन्ने लाग्छ।’

मुकेश चाहन्छन्– आफूले मात्र कुनै काम गरेर केही हुँदैन, आफूले गरेको कामबाट अब आउने पुस्ताले पनि अर्को बाटो पाओस्। त्यसमा उनी कति सफल हुन्छन् अहिले नै थाहा छैन। तर। सफल नहुँदासम्म मिहिनेत छाड्ने छैनन्। उनमा त्यो सपना भेट्ने इच्छा प्रबल छ। 

‘गाउँमा रहेकाहरू दैनिक जीवन धान्ने मेसोबारे मात्र सोचिरहेका हुन्छन्। आज दुई हजार रुपैयाँ चाहियो भने दिनभर मिहिनेत गरेर कुनै सामान बनायो र दिन चलायो। घरपरिवार हेर्नुपर्ने, बिरामी भयो भने औषधोपचार गर्ने पैसा पनि अरुसँग माग्नुपर्ने अवस्थामा हुन्छन्। त्यसैले म जतिसक्दो चाँडो गाउँमा धेरैलाई काम दिन सक्ने गरी यहाँ मिहिनेत गरिरहेको छु’, उनले भने। 

हुन त मुकेशको रहर पनि इन्जिनियर बन्ने नै थियो। तर, सोचेजस्तो सबै कहाँ हुन्छ र? केही सामान देख्दा त्यो कसरी बन्ला भन्ने सोचमा घोत्लिन्थे उनी। बुझ्थे। त्यो रहर पढाइसँग जोडिन सकेन। अहिले कामसँग जोड्न आविष्कार केन्द्रले ठाउँ दिइरहेको छ। चाहिने धेरै सामान केन्द्रमै पाएका छन्। पेच लगायतका केही सामान किन्नु पर्छ। अरु धेरै सामान कबाडीबाट पनि ल्याएका छन्। 

‘आविष्कार केन्द्रमा मलाई आफूले सोचेको काम गर्ने अवसर छ। कुनै सरकारी निकायमा हुन्थ्यो भने मैले इन्जिनियर पढेको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्थ्यो होला, ज्ञान मात्र भएर काम गर्न दिँदैन थिए। तर, यहाँ आइडिया सुनाएर आफूले जानेको काममा मिहिनेत गर्न पाइरहेको छु। नबुझेको कुरा र टेक्निकल सपोर्टका लागि यहाँ हुने इन्जिनियरलाई सोध्न पाइरहेको छु,’ मुकेश खुशी देखिए। 

तलाईं आउँदैन होला भन्ने व्यवहार आविष्कार केन्द्रमा छैन, हुँदैन। उनले हौसला दिनेहरूको राम्रो साथ पाइरहेकै छन्। त्यसैले त मंसिर अन्तिममा बिहे गरेका उनी त्यसको केही समयमै काठमाडौं आएर मेसिन बनाउने मिहिनेतमा दत्तचित्त छन्। 

घरबाट हामीले त त्यही काम गर्‍यौँ गर्‍यौँ, तँ पनि किन त्यही काममा लागिरहेको छस् भन्ने प्रश्न मुकेशले सुनिरहेकै छन्। ‘घरबाट फार्मेसी पढाएको त काम नै भएन नि भन्नुहुन्छ। मेरो चाहिँ सबैलाई सँगै लिएर जाने सोच हो। एउटै फार्मेसीमा बसेर जिन्दगी कटाउन भन्दा सबै मिलजुल भएर अगाडि बढौँ। त्यसले मलाई पनि सजिलो, काम गर्नेहरूलाई पनि सजिलो’, उनले सुनाए। 

योजनामा चलिरहेको जाँगर


मुकेश जस्तै आविष्कार केन्द्रमा सपना पूरा गर्ने प्रयासमा लागिरहेका छन् रोल्पा, लिबाङबाट आएका दानबहादुर घर्ती मगर। गाउँमा देखेको असहज परिस्थिति र दुःख नै उनको खोजको उद्गम हो। पानीको समस्या भएको गाउँमा सिंचाइँको लागि भइरहेको अप्ठ्यारो हटाउने प्रयासमा छन् उनी। 

‘यहाँ अहिले सिँचाइसम्बन्धी कामका लागि पानी पम्प गर्ने मेसिन बनाउँदै छु। बिजुली र सोलार दुबै नचाहिने गरी मेसिन बनाउने प्रयास भइरहेको छ। खोलामा बगेको पानीको गतिलाई प्रयोग गरेर माथि अग्लो ठाउँसम्म पानी पुर्‍याउन सकिन्छ कि भन्नेमा छु,’ उनले काम गरिरहेको योजना सुनाए। 

दानबहादुरको गाउँमा यसअघि सोलार प्रयोग गरेर पानी तान्ने पम्प चलाउने काम पनि भएको थियो। तर, केही छुल्याहाले सोलारमा ढुँगा हानेर बिगारीदिएछन्। जसले गर्दा पम्प चलाउन सकिएन। भइरहेको सिँचाइ पनि रोकिएपछि भर्खरै विज्ञान विषयमा १२ कक्षा सिध्याएर बसिरहेका उनलाई सोलार नचाहिने कुनै विधि हुन्छ कि भन्ने खोज्न मन लाग्यो। योजना आविष्कार केन्द्रमा आएर सुनाए। काम गर्न थाले। 

‘यो पम्प बनाउन सकेँ भने राम्रो हुनेछ भन्ने लागिरहेको छ। १२ कक्षा पढेर सकेँ। अघि पनि पढ्ने सोच छ। साथमा केही काम पनि गरौँ भन्ने लागिरहेको थियो। यो आविष्कार केन्द्रको बारेमा थाहा पाएको थिएँ, त्यसैले यहाँ आएर केही काम गर्न सक्छु भनेर आएँ। यहाँ अवसर दिनुभएको छ’, उनले भने। 

उनलाई बिजुली र सोलारको प्रयोग बिना पनि पानी तान्ने पम्प बनाउने सोच गाउँको समस्या देखेर नै आएको हो। आखिर सोच भएकाले खोज गर्ने आँट भएकाले समस्या देखेपछि नै समाधानको खोजी गर्ने त हुन्।

‘गाउँमा पानीको समस्या निकै छ। त्यही समस्याले नै प्रेरणा दिएकाले काम गरिरहेको छु। अहिले पुराना टायरको बाहिरी भाग प्रयोग गरेर काम गरिरहेको छु। महँगो नपरोस् भन्ने सोचमा बिग्रिएका सामानहरू प्रयोग गरिरहेको हुँ। बनेपछि हेरौँला नि त के हुन्छ, अहिले खोजको चरणमा नै छु’, उनले भने। 
आफूले गरिरहेको कामले दानबहादुर खुशी छन्। ठूला टायरहरू एक्लैले उठाएर त्यसलाई फलामसँग छुट्याउन बडो मिहिनेत गरिरहँदा भेटिएका उनले भने, ‘यो काम गरिरहँदा फुटबल खेलेर स्वर्ण पदक पाउँदाको भन्दा बढी उत्साह र शक्ति पाइरहेको महसुस भएको छ।’

कक्षाबाहिरको पढाइ


विगत छ महिनादेखि आविष्कार केन्द्रमा काम गरिरहेका छन् मनोज मालाकार। उनी काठमाडौंमा नै मेकानिकल इन्जिनियरिङको सातौँ सेमेस्टर पढिरहेका विद्यार्थी हुन्। कोभिडको समयमा स्वास्थ्य सुरक्षाका विभिन्न सामान बनाउँदा मनोजले पनि त्यसमा काम गरेका थिए। अहिले भने नयाँ योजनामा काम भइरहेको छ। यतिखेर उनी अटोमेटिक वाटर हिटर बनाउने काममा व्यस्त छन्। 

कक्षामा पढेका कुरा व्यवहारमा प्रयोग गर्न पाउँदा खुशी छन् मनोज। ‘पढेर एकैपटक यता आउँदा पढेको कुरालाई अभ्यासमा प्रयोग गर्दा रमाइलो महसुस भइरहेको छ। यहाँको वातावरण पनि रमाइलो छ। फरक फरक क्षेत्रका मान्छे हुँदा कुनै समस्या पर्दा कुराहरू सोध्न पाइयो। आफैले पनि खोजिन्छ। यहाँ कुनै दबाब छैन,’ उनले भने।

आफूलाई इच्छा लाग्दा उनी राति उठेर पनि काम गरिरहेका हुन्छन्। यही समय र यही शैलीमा काम गर्नुपर्छ भन्ने कुनै नियममा बाँधिएको छैन। त्यो स्वतन्त्रता महसुस हुँदा जिम्मेवारी आफैले महसुस गर्ने संस्कारको विकास भइरहेको छ। आफ्नै हिसाबले काम गर्न सक्ने स्वतन्त्रता छ। 

कोभिडका कारण पढाइ बन्द भएको समयमा स्वयम्सेवकका रुपमा केही काम गरौँ भनेर मनोज आविष्कार केन्द्र पुगेका हुन्। अब पढाइ सुरु भएपछि त्यसैमा ध्यान दिएर पछि यो अनुभवलाई प्रयोग गर्ने सोचमा छन् उनी। 

‘कक्षामा पढेको कुरा पनि कुनै विषयमा पूर्वधारणा बनाएर नै सुरु हुन्छ। त्यसैले यहाँ काम गर्दा धेरै फरक त हुँदैन। पढाइमा आइरहेका कतिपय विषयबस्तु यहाँ काममा पत्ता लगाउनु परिरहेको हुन्छ। कलेजमा काम लाग्दैन भनेर छाडेको कुरा पनि यहाँ काम लाग्न सक्छ। यहाँ काम गर्दा पढाइलाई हल्का रुपमा लिनु हुँदैन रहेछ भनेर पनि बुझेँ,’ उनले सुनाए। 

आफूले पढेको कुरा प्रयोग गर्न आविष्कार केन्द्र जस्ता स्थानको महत्व ठूलो रहेको मनोजले बुझेका छन्। सोच भएको मान्छेले ठाउँ पाउनु नेपाली परिवेशमा सहज पक्कै छैन। उनी भन्छन्, ‘आर्थिक रुपमा सक्षम नभएको, आफूसँग काम गर्ने साधन नभएको तर केही कुरा गर्ने रुचि र ज्ञान भएको मान्छेलाई यहाँ ठूलो स्थान छ। यस्तो ठाउँहरू नेपालमा अरु पनि भयो भने धेरै राम्रो हुन्छ जस्तो लाग्छ। आफ्नो सोचलाई कुनै उत्पादनमा रुपान्तरण गर्नका लागि।’

मनोज जस्तै मेकानिकल इन्जिनियरिङकै विद्यार्थी हुन् अरुण फुयाल पनि। उनी पनि आविष्कार केन्द्रमा गएर काम गर्न थालेको छ महिना भयो। उनको पनिअनुभव मनोजको जस्तै छ। मनोज र अरुणको जस्तै आविष्कार केन्द्रमा रहेका अरु धेरै विद्यार्थीको पनि। 

‘यहाँ नयाँ नयाँ प्रोजेक्टमा नयाँ नयाँ काम सिक्न पाउँदा रमाइलो लाग्छ। कलेजमा जे कुरा पढेको थिएँ यहाँ अभ्यासमा त्यही कुरा गर्न पाइरहेको छु। यहाँ सिनियर दाइहरू, महावीर सरसँग बसेर काम गर्न पाउँदा सिक्ने अवसर धेरै छ’, अरुणले सुनाए। 

परिवर्तन भेटिँदै छ
५० वर्षका राजेश लिम्बु आविष्कार केन्द्रमा कफी भुट्ने मेसिन बनाउन व्यस्त छन्। देशदेखि विदेश र विदेशदेखि देशको यात्रामा संसार नियालेका उनी विज्ञानको क्षेत्रमा हुनुपर्ने सोच नहुँदा देश पछि परिरहेको महसुस गर्छन्। 

गएको मंसिर यता उनी आविष्कार केन्द्रमा काम गरिरहेका छन्। पुख्र्यौली ताप्लेजुङ–मोरङ हुँदै अहिले भक्तपुरमा बसिरहेका राजेशले सानैमा भारतमा काम सिकेका हुन्। १२ वर्ष भारत बसाइपछि उनी १४ वर्ष टर्की बसे। केही वर्ष दुबई कतार पनि बसे। 

‘टर्कीमा पनि यस्तै काम गरेँ। काम सिकेको भारतमा हो। पढेर सिकेको होइन, काम गरेर सिकेको। दरियागञ्जमा हिन्दुस्तान मेसिन टुल्स भन्ने थियो, त्यहाँ काम गर्दै सिकेँ। भारतीय आर्मीमा एक जना आफन्त थिए, उनैसँग भारत गएको थिएँ,’ उनले सुनाए। 

राजेशलाई लाग्छ, मिहिनेत नगरेरै देश यस्तो भएको हो। उनी भन्छन्, ‘सबैले मिहिनेत गरेको भए हाम्रो देश पनि कम हुँदैन थियो। २५० वर्षभन्दा अगाडिको देश यस्तो अवस्थामा हुनु हुन्नथ्यो। हाम्रो अवस्था पनि जापान, अमेरिका जस्तो भइसकेको हुनुपर्ने हो नि। यहाँ टेक्निकल क्षेत्रमा केही विकास छैन। टेक्निकल कुरामा हामी ढुंगे युगमा नै छौँ।’ 

विस्तारै आविष्कार केन्द्रमा काम गरिरहेका युवा देखेर पनि राजेशलाई परिवर्तन भइरहेको भान हुन्छ। ‘यहाँ नयाँ भाइहरू देख्दा पनि खुशी लाग्छ। उनीहरू पनि सिक्दै छन्। नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच देखिन्छ’, उनी भन्छन्, ‘टेक्निकल क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच पनि बढिरहेको छ जस्तो लाग्छ। साइन्स एण्ड टेक्नोलोजी नपछ्याएसम्म विकास हुँदैन भन्ने बुझ्न थालिएको छ जस्तो लाग्छ।’ 

पहिले विज्ञानको ज्ञानमा ध्यान दिएको भए अहिले हामी नेपाली जाति धेरै माथि पुगिसक्थ्यौँ भन्ने उनलाई महसुस भएको छ। तर, उनलाई जुन समय विज्ञानमा रुचि थियो त्यो समय देशमा त्यसको वातावरण थिएन। 

‘पहिले म विद्यालय पढ्ने बेलामा पनि उत्सुक स्वभावको थिएँ। राम्रो वातावरण पाएको भए या अरु विकसित देशमा जन्मिएको भए म पनि वैज्ञानिक नै पो हुन्थेँ कि जस्तो लाग्छ। त्यति साह्रो रुचि थियो। हरेक सामान हेर्दा कसरी बनाउँछ होला जस्तो लाग्थ्यो। कसले बनायो होला जस्तो लाग्छ। घडी र रेडियो त कति बिगारेँ कति’, उनले विगत सम्झिए। 

अहिले राजेश सन्तुष्ट छन्। मेसिनसँगको यो काम नगरी उनलाई रमाइलो लाग्दैन। छोराछोरीले धेरै मिहिनेत नगर्नु भनेको भएर डेढ वर्ष घरमा नै बसेको तर घरमा बस्दा बिरामी जस्तो हुने, टाउको दुख्ने, जिउ भारी हुने भएपछि काममा फर्किएको उनी सुनाउँछन्। ‘घरमा टिभी हेरेर मात्र पनि कति बस्नु। अहिले काम गर्दा सबै कुरा आनन्द छ। काम गर्दा बच्चा खेलेको जस्तो रमाइलो लाग्छ,’ उनले सुनाए। 

उनले अझ दृढ भएर सुनाए, ‘अब त नेपालमा नै सबै काम गर्छु। मेरो मेकानिकल जिन्दगी आविष्कार केन्द्रमा नै बिताउने सोचेको छु। मेरो सबै कारखाना उखालेर ल्याएर यहीँ राखेको छु।’

सोचसँगै जाँगर चाहिन्छ : महावीर पुन


राष्ट्रिय आविष्कार केन्द्रमा हरेक दिनजसो मसँग नयाँ सोच छ, म यस्तो गर्छु, म यस्तो बनाउँछु भन्ने मान्छे आइरहेका हुन्छन्। दिनकै एक जनाको दरले आए भने पनि थुप्रै आए। तर, धेरैजसोको यस्तो बनाउन पाए भन्ने मनको कल्पना मात्र हुने गर्छ। कति चाहिँ कल्पनासँगै सीप र जाँगर पनि भएकाहरू आउँछन्। कति कल्पना पनि भएका, जाँगर पनि भएका तर, सीप नभएकाहरू आउँछन्। अलिकति सोच भएको, सीप पनि भएको र जाँगर पनि भएको यहाँ टिक्छन्। सोच भएको तर जाँगर नभएको मान्छे यहाँ टिक्दैनन्।

अहिले यहाँ भएकाहरू भनेको केही गरौँ, गर्छु भन्ने विश्वास लिएर, खटिएर, लागिपरेर काम गरिरहेकाहरू छन्। अब सोच भएको सीप र जाँगर नभएको कोही यहाँ आएर छोटो समय बस्छन्, प्रयास गर्छन् र त्यसपछि जान्छन्। अल्छिको यहाँ काम छैन। 

नेपालमा बसेर केही गरौँ भन्ने सोच भएकाहरूको संख्या निकै कम छ। पहिलो कुरा त हाम्रो विद्यालयमा, विश्वविद्यालयमा पढाइने विषयमा सैद्धान्तिक कुरामा मात्र पढाइने, व्यावहारिक ज्ञान कम हुने गरेको छ। दोस्रो कुरा, यसरी नयाँ कुरामा अनुसन्धान गरेर त्यसलाई विकास गरेर कमाउने माध्यम बनाउने भन्ने संस्कार विश्वविद्यालयले पनि सिकाएन, समाजले पनि सिकाउँदैन। त्यसले गर्दा युवा पुस्तामा केही गरौँ भन्ने भावनाको कमी भइरहेको छ। त्यसमा उनीहरूको दोष पनि छैन। अहिले यहाँ राष्ट्रिय आविष्कार केन्द्रमा तीन वर्षमा मान्छे त आए नै, कसैले फोन गरेर पनि सल्लाह लिए। यहाँ आएर काम गर्नुस् भन्दा तीन वर्षमा एक हजार जना आउने भनेको ठूलो संख्या पनि होइन। पहिले त समाजमा एउटा संस्कार बसाल्नु पर्ने रहेछ भन्ने बुझेको छु। 

२०४६ सालसम्म उस्तो नेपालबाट बाहिर जागिर खान जाने भन्ने संस्कार बसिसकेको थिएन। मैले देखेको कुरा हो यो। २०४५ सालमा म अमेरिका जाँदासम्म विदेश जाने भन्ने कुरा निकै नौलो थियो। अहिलेको जस्तो चलन भएको भए म पनि विदेशमा गएर नोकरी खाने भन्ने सोचमा नै हुन्थेँ कि। तर, त्यो संस्कार नै थिएन। गएको ३० वर्षमा अब विदेश गएर पैसा कमाउनुपर्छ भन्ने संस्कार असाध्यै बढ्यो। एकपटक भए पनि विदेश जाने भन्ने सोच धेरै हाबि भइसकेको छ।

अब कुनै चिजको आविष्कार, अनुसन्धान गरेर कुनै सामान बनाएर व्यापार गरौँ भन्ने सोचको विकास होस् भन्ने लाग्छ। त्यस्तो सोच नबसेको हुनाले अनुसन्धान गर्ने मान्छेको कमि भएको हो। त्यस्तो जागरुकता नभएको हो। राष्ट्रिय आविष्कार केन्द्रले त्यसमै प्रयास गरिरहेको छ। 

कुनै स्रोत र सामानको अभावले आएको सोचमा काम गर्न नसकेको भन्ने भएको छैन। किनभने यो जनताले सहयोग गरिरहेको संस्था हो। हामीले कुनै दातृ निकायलाई, कुनै एनजिओलाई, कुनै सरकारी संस्थालाई स्रोत साधनका लागि अनुरोध गर्दैनौँ। किनभने अनुरोध गरे पनि पाउँदैनौँ भन्ने थाहा छ। जति पनि स्रोत साधन छ त्यसले पुगिरहेको छ, कमि भने राम्रो आइडिया ल्याउने मान्छेको भइरहेको छ। 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्