काठमाडाैं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने बताएका छन्।
सिमरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारमा जान हतार नगरी कांग्रेस विद्यमान सङ्कटको निकास दिनतिर लाग्नुपर्नेमा जोड दिएका हुन्।
विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने नेता सिंहको भनाइ थियो। पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा उनले जोड दिए।
संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको उनको भनाइ थियो।
फरक प्रसंगमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेकाले कार्यकर्ताले विश्वास गरे सभापतिका लागि योग्य रहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।