काठमाडाैं–बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः सुरु भएको छ। स्प्याक्ट गामा क्यामरा मेसिन मर्मत सम्भार गरी पुनः सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको हो।
मेसिन सञ्चालनमा आएसँगै न्यूक्लियर मेडिसिनका परीक्षण तथा उपचार विधि नियमित भएको डा. गौतमले बताए। न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ।
यो विधिबाट मस्तिष्क, घाँटीको थाइराइड, मुटु, फोक्सो, मिर्गौला, कलेजो, हड्डीको जाँच हुने उनले जानकारी दिए। हड्डीमा सङ्क्रमण भएको वा हड्डीमा क्यान्सर भएको दुवै किसिमको जाँच गर्न मिल्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।