काठमाडौं- सरकारले प्रतिबन्ध हटाएसँगै थुनामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्ष अघि लगाएको प्रतिबन्ध हटाएको थियो। यससँगै विभिन्न मुद्दामा थुनामा रहेका विप्लव नेकपाका नेता/कार्यकर्तालाई रिहा गर्न लागिएको हो।
गृह मन्त्रालयले यसका लागि प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरेको छ। गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले भने, ‘भोलिको कार्यक्रममा विप्लव नेकपाका सबै शीर्ष नेता एउटै मञ्चमा देखिनेछन्।’
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दले काठमाडौंमा हुने सभालाई संयुक्त सम्बोधन गर्ने यसअघि नै तय भइसेको छ। सरकार र विप्लव पक्षबीच बिहीबार तीन बुँदे सहमति भएको थियो।
शुक्रबारको कार्यक्रम अघि नै काठमाडौंका विभिन्न कारागार र हिरासतमा रहेका विप्लव नेकपाका नेताहरुलाई रिहा गरिने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।