बागलुङ–बागलुङमा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ। जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार पछिल्लो समय सम्बन्धविच्छेद बढ्दो देखिएको छ। पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ। यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ।
पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए। ‘विवाह गरेर विदेश जाने र श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ,’ उनले भने ‘उनीहरु शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण एकअर्कामा आशङ्का पैदा हुन्छ र चरित्रको आरोप लाग्छ अनि सम्बन्धविच्छेदसम्म पुग्छ।’
सम्बन्धविच्छेदका मुद्दामा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य रुपमा देखिने गरेको उनको भनाइ छ। ‘विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ,’ उनले भने।
जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७\७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिए। कोरोनाका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उनको भनाइ छ।
अघिल्लो आर्थिक वर्ष २०७६\०७७ मा सम्बन्धविच्छेदका १८६ मुद्दा दर्ता भएका थिए । यो आवमा गत वर्ष सरी आएकोे महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्धविच्छेदका घटनामध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्दा फछ्र्योट गरिएको छ ।
चालीस सम्बन्धविच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ। ११६ मुद्दामध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन्। तीमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका आठ मुद्दामा मिलापत्र गरिएको छ। चालीस मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार भण्डारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।