नवलपरासी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गतराति दुई वटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुवै ट्रकका चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको हो।
ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।