काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा नेपाली कांग्रेसको महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
'कांग्रेसले २०७७ फागुन ७ गतेदेखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेसन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो,' प्रवक्ता शर्माले भने।
बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने उनले जानकारी दिए।
संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए।
यस्तै, गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसद् विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय अनुसार विभिन्न कार्यक्रम गरेको र ती कार्यक्रमहरुको समीक्षा समेत बैठकमा हुने पनि प्रवक्ता शर्माले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।