काठमाडौं- वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले प्रतिनिधि सभा विघटनको मुद्दा फैसला गर्दा संविधानमा जे लेखिएको छ त्यसै अनुसार गर्ने सर्वाेच्च अदालतलाई राय दिएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट सर्वाेच्च अदालतको एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता कार्कीले संविधान निमार्ताहरु नै संवैधानिक संकट परेको भन्दै सडकमा गएकाले यसमा न्यायाधीशहरू अलमलिनुपर्ने कारण नभएको बताए।
अधिवक्ता कार्कीले मंगलबार संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने उल्लेख गरे। कानुन सबैका लागि बराबर हुने बताउँदै कार्कीले लोकतान्त्रिक नियम कानुन मानेर अगाडि बढ्नुपर्ने तर्क गरे।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो। विघटन विरुद्धमा सर्वोच्चमा १३ थान निवेदन रहेका छन्। उक्त निवेदनहरुमा माघ ४ गतेदेखि सुनुवाइ चलिरहेको छ।
गैर संवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै नेकपाका नेता देव गुरुङसहितको निवेदनमा करिव एक महिनादेखि बहस भइरहेको छ। पक्ष र विपक्षको बहसपछि अदालती सहयोगीहरुले इजलासलाई स्वतन्त्र धारणा दिन लागेका हुन्। उनीहरुको बहसपछि अदालतले फैसला सुनाउने छ। यसअघि रिट निवेदक र सरकारी पक्षको तर्फबाट बहस भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।