काठमाडौं- एक दशकसम्म चलेको माओवादीको हिंसात्मक विद्रोहका क्रममा घाइते भएका तत्कालीन ‘जनमुक्ति सेना’का लडाकु प्रेम वयक ‘पर्वत’को कम्मरमुनिको भाग चल्दैन। मेरुदण्डमा अझैंसम्म गोली छ। वाकरको सहायतामा उनी यताउता गर्छन्। दैनिक जीवन सकसपूर्ण छ। यस्तो अवस्थाका घाइते उनी बस्छन्, सुदूरपश्चिमको कैलालीको मोतिपुरमा।
तर, त्यहीँ रहेर आफ्नो बाँकी जीवन जसोतसो गुजार्न समेत पाएनन्। आफू यस्तो अवस्थाको अपांगता ब्यहोरिरहेको अवगत गराउन उनी काठमाडौं नै आइपुग्नु पर्यो, त्यो पनि एक्लै। अपांगता प्रतिशत उनी बस्ने कैलाली जिल्लामा नपठाइएपछि प्रेमसामु सकीनसकी काठमाडौं आउनुको विकल्प भएन।
'जनयुद्ध’का क्रममा यो अवस्थामा पुग्नु र देखाइएका सपना झन्–झन् दूर हुँदै जानुको पीडा छँदैछ। आफ्नो अवस्थाका विषयमा समेत राज्यले गडबडी गरेपछि उनी काठमाडौं आइपुगे, गृहमन्त्रीलाई भेट्न। गृह मन्त्रालयमा कुनैबेला माओवादी युद्ध हाँक्नेमध्येका एक, रामबहादुर थापा ‘बादल’ मन्त्री थिए। लामो पर्खाइपछि गृहमन्त्रीको समय पाएर आफ्नो गुनासो राखे उनले। केही दिनअघि गृह मन्त्रालयमा भेटिएका उनी भन्दै थिए, ‘काठमाडौं आएको १५ दिन जति भयो। आफैंमाथि अन्याय भएपछि आएको हुँ। गृहमन्त्रीलाई भेटें। पुनर्मूल्यांकन गर्ने निर्णय गरेको बताउनुभएको छ।’
‘पानी दिन पनि अयोग्य’ प्रचण्ड–बाबुराम
कुनै समय ‘कि मृत्यु, कि मुक्ति’ भनेर जंगल पसेका उनी अहिले निराशाको घनघोर जंगलभित्र थुनिएका छन्। ‘जनयुद्ध’सँग त उनको उतिसारो गुनासो छैन। तर, त्यसका नाइकेहरुप्रति तीव्र आक्रोश छ। कुनैबेला उनीहरुको एक बोलीले ज्यान हत्केलामा राखेर हिँड्ने उनी आफ्ना नेताहरुको बदलिएको स्वभावदेखि विक्षिप्त छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई अहिलेको अवस्थामा आइपुग्छन् भन्ने सुइँकोसम्म पाएको भए उनले ज्यानको त कुरै छाडौं, एक गिलास पानी समेत दिँदैनथे। आक्रोशमिश्रित स्वरमा प्रेम भन्छन्, ‘आजका जस्ता नेता त्यो बेला थाहा पाएको भए, आजको जस्तो पार्टी थाहा पाएको भए रगतको कुरा छाड्नुहोस्, पसिनाको कुरा छाड्नुहोस्। एक गिलास पानी दिन पनि अघि सरिँदैनथ्यो। उहाँहरु त्यसको लायक रहनुभएन।’
उनीहरुलाई आफूले रगत पसिना बगाएर, आफैंलाई अशक्त बनाएर र बलिदान गरेर त्यहाँसम्म पुर्याएकोमा उनलाई पछुतो छ। ‘जन्म दिने बुवाआमाको पनि कुरा सुनिएन। समाजमा आमुल परिवर्तनको सपना देखाइएको थियो । त्यसका लागि लडेका थियौं,’ उनको गुनासो छ।
त्यो बेला यी नेता अहिलेको जस्तो नरहेको उनको भनाइ छ। ‘जनयुद्ध’सम्म जनताकै लागि लडेको उनले देखेका हुन्। गणतन्त्रकै मुद्दा उठाएको उनले भेटेका हुन्। तर, अहिले उनीहरुको संगत दलाल, पूँजीपति र विदेशी शक्तिसँग भएको ठहर उनको छ। प्रतिक्रियावादीको घेरामा गएको बुझाइ उनको छ। उनी भन्छन्, ‘उहाँहरुले गरिबका मुद्दा छाड्नुभयो। जनजातिका अजेन्डा छाड्नुभयो। महिलाका मुद्दा छाड्नुभयो। थारु, दलित सबैको चिन्ता छाड्नुभयो। उत्पीडितलाई छाड्नुभयो। घाइते र अपांग छाड्नुभयो। सामन्तको नजिक जानुभयो। दलालका नजिक जानुभयो र ठेकेदारका नजिक जानुभयो।’
आफूसँग लडेका सहयोद्धा, त्यस क्रममा मृत्युवरण गरेकाहरुका परिवार, वेपत्ता र घाइते समेतलाई बिर्सेर नेताहरु अर्को संसारमा पुगेकोमा उनी चकित पर्छन्। उनीहरुले चाहेर पनि गर्न सक्ने वातावरण नभएको उनलाई पनि अनुभूति छ। तर, आफूलाई काम गर्न नदिइएको विषयलाई लिएर जनतामाझ आउनुपर्ने उनको तर्क छ। ‘परिवर्तनका लागि लड्दा आधा ज्यान भएका हामीजस्ता हजारौं बाँकी जीवन समेत सुम्पिन तयार भएर बसेकै थियौं’, उनले भने। तर, सरकारमा गएपछि जनताको जीवन बदल्ने संकल्प गरेका माओवादीका नेताहरु आफैं बदलिए। उनी भन्छन्, ‘प्रचण्डको नेतृत्वमा दुई–दुई पटक सरकार बन्यो। बाबुरामको नेतृत्वमा सरकार बन्यो। हामीले आशा गरिरहेका थियौं। जनताको आशा थियो। तर, केही गर्नुभएन।’
आफूजस्ता योद्धा लडेर नेता बनाएका प्रचण्ड, बाबुराम, बादलहरुले बिर्सेको पीर एउटा भयो। उनलाई यो भन्दा बढी पीर जनतालाई देखाइएको सपनाको छ। उनी भन्छन्, ‘जनयुद्ध केही मान्छेहरु बनाउनका लागि थिएन। ज्ञानेन्द्रलाई राजाबाट हटाएर विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन थिएन। गिरिजाहरुको सट्टा प्रचण्ड वा ओली प्रधानमन्त्री बनाउन मात्रै थिएन जनयुद्ध। जनजीविकामा आमुल परिवर्तनका लागि थियो।’
संसदीय ‘फ्रेस हाउस’ चलाइरहेका नेताहरु
प्रेमको बुझाइमा हिजो खशीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलोको संज्ञा दिइएको संसदीय व्यवस्थामा प्रचण्ड–बाबुरामहरु आफैं ‘फ्रेस हाउस’ चलाइरहेका छन्। यही प्रवृत्तिप्रति नै उनी असहमत छन्। ‘जनताले राष्ट्रियता, जनतन्त्र र जनजीविकामा परिवर्तन चाहेका हुन्। तत्कालीन माओवादी पार्टीले जुन ४० बुँदे माग राखेर जनयुद्ध थालेको थियो, फर्के हेर्दा जस्ताको तस्तै छ,’ उनले भने, ‘राष्ट्रियताका सवालमा संकटमै छ देश। जनतन्त्रको कुरा गर्दा अहिले पनि कुनै आभाष छैन। जनजीविकाको सवालमा परिवर्तनको महसुस भएको छैन। हामी जस्ता योद्धाको विचल्ली छ। सबैतिर निराशा छ।’
सामन्तवादी संसदीय व्यवस्था नै विकासको बाधक हो भन्ने निष्कर्षसहित माओवादीले हतियार उठायो १० वर्ष। फेरि उही व्यवस्थामा फर्किएको पनि त्यो भन्दा बढी वर्ष बितिसकेका छन्। तर, माओवादीहरुकै शब्दमा ‘जनयुद्ध’को जगमा ल्याइएका भनिएका गणतन्त्र र संघीय शासन प्रणाली नै यतिबेला संकटमा छन्। यस्तो अवस्थामा पनि तत्कालीन माओवादीका नेताहरु एक ठाउँमा आउन नसकेको देख्दा वयक विरक्त हुन्छन्। कुनै बेला ज्यान दिन तयार उनी पछिल्ला केही वर्षदेखि कुनै पनि पार्टीको सदस्यता समेत लिन तयार छैनन्।
उनी त्यो समय नेताहरुले गरेका रगत उमाल्ने भाषण सम्झिन्छन्। यिनै नेताहरु भन्थे, ‘मुक्ति या मृत्युको कसम खाएर सर्वहाराको सत्ता बन्दुकको नालबाट जन्माउँछौं। यो हतियार तबसम्म बिसाउने छैनौं जबसम्म यो राज्यप्रणालीको अन्त्य गर्दैनौं। कि हामी सबैको मुक्ति हुनेछ, कि हामी सबैको मृत्यु हुनेछ। हामी यो झन्डा र समातेको बन्दुक एकजना ढल्दा अर्को उठाएर भएपनि हामीले जनताको समतामूलक समाज, गरिबको सत्ता, जनवादी राज्यसत्ता स्थापना गरेरै छाड्छौं।’
आमजन दुःख, अभाव र विभेदको पहाडसँग लडिरहेका थिए। त्यससँग लड्न सघाउने भएपछि माओवादीप्रति एक खालको विश्वास पैदा भयो। महिलाले समानताको सपना देखे। दलितले विभेदको खाडल पुरिएको समय सम्झिए। युवाहरुले बेरोजगारीको हैरानीबाट उन्मुक्ति पाएको दिनको कल्पना गरे। वयक भन्छन्, ‘नेपाली समाजको आमुल परिवर्तनका लागि उहाँहरु लाग्नुभएको छ भन्ने अनुभूत गराइयो। त्यस्ता नाराहरु दिइयो। त्यो खालको अभियान चलाइयो। त्यो खालका कार्यक्रम हुन थाले। ए साँच्चै माओवादीले मुक्ति गर्छ। माओवादीले मात्रै समाजको कायापलट गर्न सक्छ भन्ने सबैलाई लाग्यो। हामीलाई पनि त्यस्तै लाग्थ्यो।’
माओवादीले त्यो बेला गरेका क्रियाकलाप, लगाएका नारा र चलाएका अभियानमा वयकहरुलाई पनि विश्वास थियो। उनीहरुले प्रचण्डलाई देखेका थिएनन्, तर माओवादीका डकुमेन्टहरु, क्रियाकलापहरु, अभियानहरु, प्रशिक्षणहरुमा साँच्चिकै नेपाली जनताको मुक्ति माओवादीबाट मात्रै सम्भव छ भन्ने आशा जागेको थियो। ‘म जस्ता लाखौं मान्छेहरु माओवादी आन्दोलनमा लाग्यौं। राजनीति बुझेर होइन, विश्वास थियो। गरिबी थियो, अन्याय थियो, उत्पीडन थियो, बेरोजगारी थियो, भोक थियो, रोग थियो। यसैका विरुद्ध हाम्रो संघर्ष थियो’ उनले भने, ‘यसबाट मुक्ति पाइन्छ भन्ने विश्वासका साथ माओवादीसँग जोडिएका थियौं।’
आधा ज्यान गुमाएको समय
उनी माओवादीसँग विद्यार्थीकालमै जोडिएका थिए। सुरुमा उनी आंशिक रुपमा माओवादीलाई सघाउन थाले। किसान संगठनमा जोडिएर ‘जनयुद्ध’लाई सघाए। पछि ‘जनमुक्ति सेना’ गठन हुने भयो। त्यसको तालीममा उनी सहभागी भए। राम्रो गरेकाले स्क्वाड कमान्डर बनाइयो। त्यहाँ ९ जनाको टनेली थियो। त्यसपछि सुदूरपश्चिममा कम्पनीस्तरको माओवादी फौज गठन भयो। त्यसको कमान्डर कालिबहादुर खाम थिए भने वयक महत्वपूर्ण सदस्य थिए।
वयकले त्यो समय माओवादीले गरेको प्रायः आक्रमणमा सहभागिता जनाएका छन्। ‘अछाम, खलंगा (जुम्ला), अर्घाखाँची, बेनी (म्याग्दी), लिस्ने गामको मोर्चामा सहभागी भइयो। गाममा त म घाइते पनि भएँ,’ उनी सम्झन्छन्।
माओवादीका सूरा लडाकुमा पर्थे उनी। त्यसैले २०६१ साल फागुन १४ गते माओवादीले आव्हान गरेको नेपाल बन्दमा उनी सक्रिय भएर लागेका थिए। सेनामाथि कैलालीमा भएको ‘रणनैतिक प्रत्याक्रमण’ लडाइँको नेतृत्व उनले गरिरहेका थिए।
त्यो बन्द खुलाउने गरी तत्कालीन शाही नेपाली सेनाको रेन्जर बटालियन दिपायलबाट एरिया सफा गर्दै त्यहाँ आउँदैथियो। ‘हामी त्यसलाई रोक्ने गरी तयार थियौं। मेरो नेतृत्वमा हाम्रो समूह थियो। बडैपुर भन्ने ठाउँमा खोलापारी सेना र वारी हामी थियौं। दिउँसो १२ बजे लडाइँ भयो। हामीले लखेट्यौ, पारी पुर्यायौं। पारि हाम्रो टोली लुकीछिपी बसिरहेको थियो। हामीले लेखेटेर पारी पुर्याएपछि उनीहरुलाई आक्रमण गर्ने योजना थियो तर, पारीको हाम्रो समूह अघि आउन सकेन,’ उनी आफूमाथि बज्रपात परेको दिन स्मरण गर्छन्, ‘त्यसपछि खोलाबाट फर्किने क्रममा गोली लागेर म घाइने भएँ। घाइते भएपछि दिल्ली पुर्याइयो। त्यहीँ फेरि पक्राउ परें। फेरि तीन महिना हिरासतमा बसें।’
उपचारका लागि दिल्ली पुगेका उनी फेरि पक्राउ परेपछि उपचार हुन सकेन। मेरुदण्डमा रहेको गोली त्यहीँ पुरियो जुन अहिलेसम्म छ। एनले सम्झिए, ‘त्यो बेला म्याग्नेटबाट गोली निकाल्ने तयारी भएको थियो, अप्रेसन गरेर निकाल्ने योजना थियो। गिरफ्तार भएपछि उपचार हुन सकेन। मेरो हेरचाह गर्ने र सम्पर्कमा भएकाहरु पनि पक्राउ परे। हिरासतमै सामान्य उपचार भयो।’
२०६३ सालमा शान्ति प्रक्रिया सुरु भएपछि उनी नेपाल आए। नेपालमा आएपछि बाँसबारी न्युरो अस्पतालमा डा. उपेन्द्र देवकोटाले उनको घाउ शल्यक्रिया गरे। तर, ढिलो भइसकेकाले गोली निकाल्न सकेनन्। स्पाइनल कर्डको ब्याक बोनको जोर्नीमा गोली भएको अवगत डा. देवकोटाले गराए। निकाल्न खोज्दा उनको स्थिति अझै गम्भीर बन्ने देखिएपछि सामान्य उपचार मात्रै भयो। ‘एक वर्षभित्र उपचार गर्न आएको भए राम्रो हुन्थ्यो भन्नुभयो। त्यस्ता थुप्रै घटनाको उहाँले सफल उपचार गर्नुभएको रहेछ। तर, मेरो उपचार समयमा नभएका कारणले सधैंका लागि यस्तो हालतमा पुगें,’ उनले भने।
उनको कम्मरमुनिको भाग नचल्ने भएकाले दुवै खुट्टामा सपोर्ट लगाउँछन्। कम्मरमा पनि सपोर्ट ज्याकेट छ। दिसापिसाबमा पनि समस्या छ। जमिनमा बस्न समेत सक्दैनन्।
आफूले यसरी लडेको ‘जनयुद्ध’का उपलब्धि गुम्दै गएको एकातिर देखिरहेका छन् भने अर्कोतिर ‘जनयुद्ध’माथि नै प्रहार भएको उनले महसुस गरेका छन्। उनलाई यसले झन् दुःखी बनाउँछ। ‘जनयुद्धमा सहभागी भएर लडेको योद्धा अप्ठ्यारो जीवन बाँचिरहेको छौं। तर, यो बलिदानको उपलब्धि आम जनताले पाउने गरी छैन,’ उनले दुखेसो पोखे, ‘वेपत्ताका परिवार, घाइते र शहीद परिवारहरु दोहोरो मारमा छौं। कहिलेकाहीँ त आफ्नो जीवनको २५ वर्ष खेर फालेको अनुभूत हुन्छ।’
त्यसपछि उनलाई लाग्यो : माओवादी सकियो
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता व्यवस्थापकीय परिवर्तनको अनुभूति आमजनले गर्न नपाएको उनको बुझाइ छ। बरु उल्टै अहिले प्रतिगमनकारी, प्रतिक्रियावादी, दक्षिणपन्थी, सामन्तवादी र पूँजीपतिहरुले ‘जनयुद्ध’मा लडेका योद्धाहरु वा ‘जनयुद्ध’प्रति हमाला बोलेको सहनुपरेको गुनासो उनी गर्छन्। ‘जसले युद्ध लड्यो उही छिन्नभिन्न अवस्थामा पुगेपछि यो दिन त आउनु नै थियो,’ उनी मन शान्त पार्छन्।
उनलाई राजनीतिक हिसाबले त माओवादी चुनवाङ बैठकमै सकिएको लागेको थियो। त्यो समय जसरी मओवादी नेताले बहस गरे र जुन दस्तावेज आयो, ‘जनयुद्ध’को बाटो नेताहरुले त्यही बेलादेखि बिराएको ठहर उनले गरेका हुन्। ‘तर, मूलभुत रुपमा जनताले बुझ्ने गरी र हामीलाई महसुस हुने गरी चाहिँ प्रचण्डको नेतृत्वमा २०६४/६५ सालमा संविधान सभाको निर्वाचनमा माओवादी ठूलो पार्टी भयो। प्रचण्डको नेतृत्वमा सरकार बन्यो। त्यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा जुन मुद्दाहरु तत्कालीन २०५२ सालमा राखिएका ४० सूत्रीय एजेन्डामा टेकेर काम गर्नुपर्थ्यो, त्यो काम गरेन। त्यसपछि सदाका लागि माओवादीले बाटो बिरायो।’
काम गर्न सहज छैन। तर, त्यस्तो अवस्थामा तत्कालीन माओवादी जनताको बीचमा जानुपर्ने उनको बुझाइ छ। शहीद परिवारमाझ जाने, घाइतेको उपचार गर्ने, वेपत्ताको खोजी गर्ने काम गर्ने, उपचार नपाएका जनतालाई उपचारको प्रबन्ध मिलाउने काममा प्राथमिकता दिएको भए नेताहरुप्रति सम्मान र विश्वास रहने उनी बताउँछन्।
उनले देखे, ‘नेताहरु त सत्ताकै लागि कुद्दै थिए। मन्त्रीका लागि दौडधुप गर्दै थिए। संविधान निर्माण गर्न जोड गर्ने र परिवर्तन नचाहने शक्तिका विरुद्ध लड्नुपर्ने बेला सम्झौता गरेर, आत्मसमर्पण गरेर प्रधानमन्त्रीका निम्ति, मन्त्रीका निम्ति, पदका निम्ति, पैसा कमाउनका निम्ति उनीहरुले जनतालाई बिर्से। थवाङका जनताको योगदान बिर्से। कालिकोटका जनताका योगदान बिर्से। बलिदान बिर्से। विस्तारै माओवादी नेताहरु विरोधीको घेराभित्र आफैं छिरे । उनीहरुले लोभ्याउँदै लगे। नेताहरु लोभिए।’
‘जनमुक्ति सेना’, ‘जनअदालत’ र ‘जनसरकार’ त विघटन भइसकेका थिए। त्यसपछि माओवादी लिगेसी नै सकियो। हुँदाहुँदा नेताहरु आत्मसमर्पण गर्ने ठाउँमा पुगेको उनले देखे। जनताले सबभन्दा ठूलो पार्टी बनाएर पठाएको संविधान सभा पनि विघटन गर्ने अवस्थामा पुगेपछि नै माओवादीको अधोगति लागेको उनको ठम्याइ छ। त्यो अधोगति अझैंसम्म नरोकिएको उनी बताउँछन्।
केही समय अघिसम्म ओली–प्रचण्डले अभूतपूर्व एकता भएको र समाजवादतर्फ जाने बताइरहँदा उनले पत्याएका थिएनन्। उनीहरुको त्यो एकता अहिले नांगो रुपमा सडकमा पुगेको दृष्यका दर्शक आमजन बनेका छन्। उनले धेरै बाेल्नै परेन।
सरकारको आशा, झिनो विश्वास
यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्व ‘जनमुक्ति सेना’को उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र वेपत्ताको खोजी गर्ने जस्ता विषय उठाइरहेको छ। त्यो जरुरी रहेको उनको ठहर छ र राज्यको दायित्व सम्झिन्छन् यसलाई। उनको खबरदारी छ, ‘हिजो प्रचण्डले गरेको जस्तै केपी ओलीले पनि यसलाई राजनीतिक लाभको मुद्दा मात्र बनाउनुहुँदैन। हामीले आशंका होइन, आशा गरेका छौं। केही नभएको समयमा कसैले भनेपछि आशा त जाग्छ। भरोसा त्यतिबेला मात्रै गर्नेछौं, जब राज्यले केही गर्नेछ।’
आफूले लडेर ल्याएको व्यवस्थामा आफ्नो व्यवस्थापन जरुरी रहेको उनको बुझाइ छ। उनी जस्ता ‘जनयुद्ध’मा योगदान गरेका योद्धाले गरेको आशा सरकारले विश्वासमा बदल्नुपर्ने उनी बताउँछन्।
समग्र विश्लेषण त उनको यस्तो छ, ‘कुनै पनि पार्टीमा राजनीतिक मूल्य छैन। कोही नेता पनि नैतिक छैनन्। सिद्धान्तबाट च्युत पार्टीहरु र नैतिक रुपमा पतन भएका नेता कार्यकर्ताहरु रहुन्जेल देशको समस्या त समाधान हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।