काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा बहस गर्न वकालतनामा लेखाएका करिब एक दर्जन कानुन व्यवसायीले बहस नगर्ने भन्दै इजलाशमा नाम लेखाएका छन्।
आफूले राख्ने तर्क इजलाससमक्ष आइसकेको भन्दै उनीहरुले बुधबार बहस नगर्नेमा नाम लेखाएका हुन्। बुधबार प्रधानमन्त्रीका तर्फबाट १५ जना कानुन व्यावसायीले बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ‘अब (बाँकी बहस) भोलि’ भन्दै इजलास समाप्त गरेका थिए। राणाले अब धेरै बहस लम्ब्याउन नहुने आशय राखेपछि बिहीबार एक घण्टामा बहस सक्ने प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले प्रतिबद्धता जनाएका थिए।
तर, इजालसमा रहेका प्रधानमन्त्रीका कानुन व्यवसायीहरुले ‘थोरै-थोरै समय लिएर आफ्ना कुरा राख्न पाए हुन्थ्यो‚’ भनेका थिए।
प्रधानन्यायाधीश जबराले ‘भोलि नै गरौं’ भनेपछि उनीहरुले ‘नाममात्रै टिपाउन पाए पनि हुन्थ्यो भन्दै नाम लेखाएका हुन्। त्यसपछि प्रधानन्यायाधीश जबराले ‘ल ल‚ नाम टिपाएपछि भोलि बहस गर्न दिँदैनौं नि’ भन्दै नाम टिपिदिन आग्रह गरे।
यसरी नाम टिपाउनेको संख्या १४ जनासम्म हुनसक्ने अदालतले जनाएको छ। हालसम्म संसद विघटनसम्बन्धी मुद्दामा सरकारको प्रतिरक्षामा ४० जनाले बहस गरिसकेका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार महान्यायाधिवक्ता र सरकारी वकिलसमेत गरी सरकार पक्षबाट बहस गर्न १८६ जनाले वकालतनामा लेखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।