काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जननेता मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको नाम जप्न सुरु गरेको टिप्पणी गरेका छन्। काठमाडाैंको प्रदर्शनी मार्गमा बुधबार आयोजित विरोध सभामा बोल्दै नेपालले पाप गर्नेलाई पशुपतिनाथले समेत कल्याण नगर्ने बताए।
‘केपी ओली जी मदन भण्डारीको नाम जप्ने गर्थे। त्यो नाम पनि बिर्सिससक्नु भएको छ। अब पशुपति नाथको नाम जप्न सुरु गर्नु भएको छ’ नेपालले भने,‘ पशुपतिनाथले कसलाई कल्याण गर्छन् थाहा छ? जो मानिस असल छ जो मानिस राम्रो प्रवृत्तिको छ। जसले धर्म गर्दछ, पाप गर्नेलाई पशुपति नाथले पनि कल्याण गर्दैनन\। चेतना भया केपी ओली जी!’
संविधान मिच्ने मिचाहलाई लोकतन्त्रको हत्या गर्ने हत्यारालाई जनआधिकार कुल्चनेहरूलाई पशुपतिनाथले कहिल्यै कल्याण नगर्ने नेपालले बताए। ओलीको शासनकालमा अहिलेसम्म ७ हजार एक सय ७० नेपाली चेली बलात्कृत भएको बताउँदै नेपालले उनीहरूको आत्माले के भनेको होला भन्दै प्रश्न गरे। यस्ता अपराधिलाई कति सजाए दियौ भनेर नेपालले सोधे।
‘यो पार्टींले तिमीलाई प्रधानमन्त्री पदमा पुर्याए। आज त्यही पार्टी सिध्याउन लागेका छौ। त्यही लोकतन्त्र समाप्त पार्न लागेका छौ’ आक्रोशित हुँदै नेपालले भने, ‘तिमीलाई धिक्कार छ। आम जनताले भनिरहेका छन् तिमीलाई धिक्कार छ। पशुपति नाथले पनि भन्लान् धिक्कार छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।