काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले आमसभा कस्तो हुन्छ भन्ने हेर्न प्रदर्शनी मार्ग आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। बुधबार प्रदर्शनी मार्गमा आयोजित विरोध सभामा बोल्दै खनालले वास्तविक सभा आजको जस्तो भएको भन्दै केपी ओली र उनका समर्थकलाई प्रदर्शनी मार्गमा आउन अनुरोध गरे।
गत २३ गते नारायणहिटी संग्राहलय अगाडि आयोजित आफू पक्षीय कार्यक्रमा ओलीले आमसभा कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरेका थिए। त्यसको प्रतिवाद गर्दै खनालले प्रदर्शनी मार्गमा भएको आमसभामा आउन आग्रह गरेका हुन्।
‘केपी ओलीले केही दिनअघि दरवारमार्ग अगाडि केही हजार मान्छे भेला गरेर ल हेर्नुस् सभा कस्तो हुन्छ? यो कास्टिङ मात्रै हो। अझै सभा कस्तो हुन्छ देखाउनै बाँकी छ भनेका थिए’ खनालले भने, ‘केपी ओली जी र केपी ओलीका समर्थक साथीहरू सभा कस्तो हुन्छ ? आउनुस् प्रदर्शनी मार्ग हामी आमसभा देखाउन तयार छौं। नेपाली जनता देखाउन तयार छन्।’
नेपाली जनताको आवाज र नेकपाको आवाज यहीँ भएको खनालले दाबी गरे। प्रतिगमनका विरुद्ध देशै आन्दोलित भएको बताउँदै खनालले समयमै नसच्चिए २०६२/०६३ को जनआन्दोलन भन्दा ठूलो आन्दोलन उठ्ने चेतावनी दिए। यसरी चल्ने आन्दोलनले केपी ओलीलाई पाप्त पारेरै छाड्ने उनको चेतावनी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।