काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी आउने बताएका छन्। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउँदै ‘ग्रिन रिभुलुसन’ हुने बताए।
उनले भने, ‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ। जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो बिद्रोहमा परिणत भयो भने के हुन्छ?’
आफू अझै स्वतन्त्र न्यायपालिका र कानूनी राजमा दृढ रहेको बताउँदै आफ्नो जनप्रदर्शनले अदालतलाई फैसला गर्न सहज भएको उल्लेख गरे। यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने उनको चेतावनी छ।
प्रचण्डले थपे, ‘त्यसो भएन भने आँधी आउँछ। हुरी आउँछ। हिजो सानो समूह (माओवादी)ले बिद्रोह गर्दा के भयो? आज जनताले गर्दैछन्।’ ग्रिन रिभुलुसन हुन्छ। शान्तिपूर्ण क्रान्ति हुन्छ।’
न्यायाधीशले केपी ओलीको सनकको भरमा भएको प्रतिनिधि सभा विघटनका पक्षमा फैसला गर्छन् भनेर आफूले नपत्याएको उनले बताए। प्रतिनिधि सभा विघटनको विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।