काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पहिलो नम्बरको अध्यक्ष नभएको बताएका छन्। बुधबार भृकुटीमण्डपमा आयोजित सभामा बोल्दै उनले ओली पहिलो नम्बरको अध्यक्ष भनेर कहीँ उल्लेख नभएको बताए।
निर्वाचन आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर ओलीले गरेको दाबीलाई लिएर उनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, 'केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन्। पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने? पार्टीको विधानबाट थाहा पाउने? विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन। सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन। कसरी पहिलो नम्बरको अध्यक्ष?'
उनले नेकपाको नभइ ओली गुटको पहिलो अध्यक्ष भएको बताए। उनको भनाइ थियो, 'बालकोटको पहिलो अध्यक्ष होलान् तर, नेकपाको होइनन्।'
उनले 'मान नमान में तेरा मेहमान' भने जसरी ओलीले पहिलो नम्बरको अध्यक्ष दाबी गरेको बताए। कसैले नदिएपनि ओली ताज पहिरिए ‘राजा भएर’ हिँडिरहेको उनको भनाइ छ। नेपालले निर्वाचन आयोले उनका कुरा नपत्याएर दस्तवेज हेर्नुपर्ने बताए। त्यसो नभए सबै केन्द्रीय सदस्य बोलाएर टाउको गन्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।