काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए।
प्रधानमन्त्री ओलीले भने, “नेपाल–भारतबीचको सम्बन्धलार्ई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पर्थ्यो, भारतसँग कुरा गर्नैपर्थ्यो, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ अनिमात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ।”
लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने प्रधानमन्त्री ओलीले बताए।
“लामो समयदेखि इतिहासले छोडेका सीमासम्बन्धी केही समस्या छन्। अन्ठाउन्न वर्षदेखि छोडेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या छ। २०१८ सम्म हामीले नापी गरेको, जनगणना गरेको, मालपोत उठाएको, तीरो तिरेको, प्रशासन राखेको, प्रशासन चलाएको ठाउँबाट तत्कालीन शासकले बोल्न आँट नगर्दा हामी चुपचाप विस्थापित हुने कुरा भयो”, प्रधानमन्त्री ओलीले भने।
सीमाकै सुरक्षा छैन भने देशको सुरक्षा कसरी ?
सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सीमा सुरक्षा छैन भने राष्ट्रको सुरक्षा कसरी हुन्छ ? राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ। सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौँ।”
प्रधानमन्त्रीले पछिल्लो समय सरकारले सीमा सुरक्षा बलको जनशक्ति र पोष्ट बढाउँदै लगेको, उनीहरूलाई सक्षम तुल्याउन साधनस्रोतको प्रबन्ध मिलाउने तर्फ ध्यान दिइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।