पोखरा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
नेपाल सौर्य विद्युत् उत्पादक संघको पोखरामा शनिबार सम्पन्न २०औं वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताए।
‘हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत् अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ’, मन्त्री रायमाझीले भने, ‘स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्दछ।’
उनले अब झोलामा खोला हालेर हिँड्नेहरूको दिन सकिएको र ऊर्जा उत्पादन बढाउन द्रूतस्तरमा काम भइरहेको जानकारी दिए।
उनले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ भएको दाबी गरे।
उनले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प, नाकाबन्दीका कठोर दिनको साना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताए। ‘समय कठिन छ, अप्ठ्यारोमा पारेर छाडेको अवस्थामा मन्त्रालय सम्हालेको छु, मुलुकलाई गति दिने गरी काम गर्छु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।