काठमाडौं- ‘..संक्रमण नफैलियोस् भन्नका लागि पुरै देशमा लकडाउन गरिएको छ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको आवाजसँगै कथावस्तु अगाडि बढ्छ। सुनसान सडक, प्रहरीको माइकिङ हुँदै सूर्य उदाइरहेको देखिन्छ। बिहानीको सूर्यको न्यानो किरणसँगै एउटा हातमा पुरानो नाम्लो र अर्को हातमा च्यातिएको टोपी समाएका सूर्यबहादुर (सुनिल पोखरेल) लडिरहेका भेटिन्छन्।
देशमा लकडाउन जारी रहेका बेला जेठ ४ गते कीर्तिपुरमा धादिङका सूर्यबहादुर तामाङ लडेजस्तै देखिन्छ दृष्य। नहोस् पनि कसरी! यो छोटो फिल्म त्यही सत्य घटनामा आधारित रहेर सुरज काफ्लेले तयार पारेको कवितामा बनाइएको हो।
नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउनैपर्ने बाध्यात्मक परिस्थितिका बिच कलाकार सरोज खनालले छोटो फिल्म बिहानीमै अस्ताएको सूर्य निर्माण गरेका हुन्। यसको निर्देशन स्वयं खनालले नै गरेका छन्।
फिल्ममा खान नपाएर छटपटाइरहेका हजारौं मजदूरको कथा छ। ११ मिनेटको छोटो फिल्ममा सरकारले बाँडेको राहतमा कसरी उनले भारी बिसाइदिएका साहु अग्रपंक्तिमा थिए भन्ने कुरा देखाउन खोजिएको छ।
हुनेखानेले त सजिलै राहत पाए तर हातमा नाम्लो, फाटेको टोपी र च्यातिएको लुगा लगाएका सूर्यबहादुरको परिचय खुलेन। राहत पाउनै लाग्दा पनि सकिएको घोषणा गर्दै भोलि आउन भनियो।
छोटो फिल्ममा क्लाइमेक्स कात्रो देखाइएको छ। मान्छे मर्दा कात्रो समेत किन्न नसक्ने गरिबको पीडा ओकलिएको छ। अन्तिम पंक्तिले हरेक दर्शकलाई भावुक बनाउँछ। जहाँ भनिएको छ, ‘ए सरकार ! भोकमरीले कोही मर्न पर्दैन भनेर भाषण नगर बरु भोकमरीले मरिहाले पनि बिना कात्रो जल्न पर्दैन भनेर भाषण गर। अनि त्यो कात्रो चैं बिना परिचयपत्र देऊ है, आज सकियो भोलि नभन।’
फिल्मको पृष्ठभुमिमा बजेको संगीत र एकोहोरो शंकले पनि दर्शकलाई भावुक बनाउँछ। फिल्मलाई युट्युबमा रिलिज गरिएको छ। अनिल श्रेष्ठ र धन खालिङ राइको छायांकन मनमोहक छ। प्रतिकात्मक रूपमा सूर्य उदाएका र सूर्य अस्ताएका दृष्यले कथा अझै सशक्त बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।