काठमाडौं- मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ।
नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले अत्याधुनिक प्रविधि प्रयोग गरी एक बिरामीको सफल उपचार गरेका हुन्।
नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेको हो। यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको अस्पतालको दावी छ।
अस्पतालमा ८० वर्षीय बिरामीलाई डा भट्ट नेतृत्वको टिमले अल्ट्रासाउण्डिङ वेभको साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो।
‘मेडिकल भाषामा यो विधिलाई हामी इन्ट्राभास्कुलर लिथोट्रिस्पी अर्थात आइभिएल भन्छौं’ डा. भट्टले भने, ‘जसरी मिर्गौला वा पिसाब थैलीमा बनेको ढुंगालाई बिनाचिरफार वेभको मद्धतले फुटाएर बाहिर निकाल्ने काम गरिन्छ, मुटुको एन्जियोप्लाष्टीमा पनि हामीले यस्तै खालको प्रविधि अपनाएर सफल उपचार गरेका हौं।’
डा भट्टका अनुसार यो प्रविधिमा सानो बेलुनको सहायताले च्यापिएको नशालाई खोल्ने र वेभको माध्यमबाट त्यहाँको क्याल्सियम चकनाचुर पार्ने काम गरिन्छ। ‘यो प्रविधिबाट स्वदेशमा उपचार संभव नहुँदा धेरै बिरामी विदेश जानुपर्ने बाध्यता थियो, तर अब त्यो बाध्यताको हामीले अन्त गरेका छौं’ डा भट्ट भन्छन् ‘यो प्रविधिको उपचार मुटुको नशामा क्याल्यिसम भरिएका बिरामीलाई मात्र काम लाग्छ।’
डा भट्ट नेतृत्वको ५ डाक्टरसहित १० जनाको टिमले डेढ घण्टा लगाएर आइभिएल प्रविधिबाट एन्जियोप्लाष्टीको काम गरेको हो। यो प्रविधि नहुँदा क्याल्सियम भरिएको मुटुको नशा खुलाउन पनि बाइपास सर्जरी गर्नुपर्ने बाध्यता हुन्थ्यो, आधुनिक प्रविधिको सफलतमा प्रयोगबाट अब नेपालमा पनि बिनाचिरफार उपचार संभव भएको हो।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले मुटुको अत्याधुनिक शल्यक्रियामा अस्पतालले निकै महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै यसबाट विदेश जानुपर्ने बाध्यता अन्त भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।