काठमाडौं–प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका पछिल्ला अभिव्यक्तिप्रति प्रश्न उठेको छ। मुद्दा विचाराधीन रहँदा पनि ओलीले पटक–पटक अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका हुन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुने गरी अभिव्यक्ति दिइरहेको उनको भनाइ छ। जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बजारका कुरा सुनिसाध्य नभएको बताए। उनले इजलासमा उठेका विषयमात्रै सुन्ने जवाफ दिएका थिए।
‘अहिले बजारमा थुप्रै विषय आएका छन्। बजारको कुरो सुन्यो भने सबैलाई यहीँ ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला,’ राणाले भने।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर ‘तमासा भइरहेको’ अभिव्यक्ति दिएका थिए। यही विषयमा सर्वोच्चमा प्रश्न उठेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।