काठमाडौं- राजधानीको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका दुई जना सञ्चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार स्कुलका सञ्चालकद्वय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।
विद्यालयका नाममा रहेको जग्गा बिक्रीका लागि बैना लिएको तर जग्गा पनि नबेचेको र बैना पनि फिर्ता नदिइएको भन्दै उनीहरूविरुद्ध ठगीको उजुरी परेको थियो। उक्त ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय परिसरले जानकारी दिएको छ।
उनीहरूले विद्यालयका नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा कृष्णप्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को वैशाखमा दुई करोड ७५ लाख रुपैयाँ बैना लिएका थिए। पछि जग्गा समेत अर्कैलाई बिक्री गरेका थिए। गत वर्ष नै देवकोटाले उनीहरूविरुद्ध ठगीको आरोपमा उजुरी दर्ता गराएका थिए।
पक्राउ परेका शिरिष न्याय परिषद्का सदस्य लक्ष्मी प्रसाद निराला खड्काका छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।