काठमाडौं- एनएमबी बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र (इनर्जी बन्ड) जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् ऊर्जा क्षेत्रमा लगानीको अनुभव हाँसिल गरेका वाणिज्य बैंकहरुले यस्तो बन्ड जारी गर्नसक्ने व्यवस्था गरेको थियो। मौद्रिक नीतिमा भएको सोही व्यवस्थाअनुसार एनएमबीले निवेदन दिएको र ऋणपत्र जारी गर्न स्वीकृतिसमेत पाइसकेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार इनर्जी बन्ड जारी गर्न अनुमति माग्ने एनएमबी पहिलो बैंक हो भने हालसम्म अरु कुनै पनि वाणिज्य बैंकले यस्तो बन्ड जारी गर्न निवेदन दिएका छैनन्।
इनर्जी बन्ड जारी गर्दा ऊर्जा क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज हुने अनुमान राष्ट्र बैंकको थियो। साथै यस क्षेत्रमा कर्जा प्रवाह न्यून भएका बैंक तथा वित्तीय संस्थाहरुलाई ऊर्जा ऋणपत्रमा लगानीमार्फत् न्युनतम कर्जा अनुपात कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको थियो। तर मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने बेलासम्ममा एउटामात्रै निवेदन पर्नुले इनर्जी बन्ड जारी गर्न वाणिज्य बैंकहरु अनिच्छुकजस्तो देखिएका छन्।
अहिले वाणिज्य बैंकहरुले गरिरहेको कुल कर्जा लगानीको १० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा पुर्याउन भनिएको छ। तर अधिकांश बैंकहरुले ऊर्जा क्षेत्रमा यो अनुपातमा लगानी गर्न सकिरहेका छैनन्। ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्न तथा सरकारले १५ औं पञ्चवर्षीय आवधिक योजना अवधिमा राखेको ५ हजार मेगावाट जलविद्युत उत्पादनका लक्ष्यलाई सहयोग पुर्याउन वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्ममा आफ्नो कुल कर्जा लगानीको न्युनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था अहिले छ।
साथै चालु आर्थिक वर्षको मौद्रिक नीतिबाटै राष्ट्र बैंकले कृषि ऋणपत्र जारी गर्नेसम्बन्धी व्यवस्था पनि अघि सारेको थियो। कृषि ऋणपत्र जारी गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिबाटै कृषि विकास बैंकलाई तोकिदिएपछि अरु बैंकहरुले आफैँ ऋणपत्र जारी गर्ने भन्दा पनि कृषि विकास बैंकले जारी गरेको ऋणपत्र खरिद गरेर कृषि क्षेत्रमा गर्नुपर्ने कर्जा लगानीको अनुपात मिलाउने तयारी गरेका छन्।
२५ अर्ब रुपैयाँ बराबरको यस्तो ऋणपत्र जारी गर्ने प्रक्रिया बैंकले सुरु गरिसकेको छ। कुनै क्षेत्रमा लगानी गर्नका लागि श्रोत जुटाउन र पूँजीबजारको जोखिम झेल्न नचाहने लगानीकर्ताहरुका लागि ऋणपत्र उपयुक्त वित्तीय उपकरण हो। सर्वसाधारणले समेत खरिद गर्नेगरी संस्थाले प्रवाह गर्ने ऋण पूँजीलाई स–साना एकाईमा परिणत गरेर ऋणपत्र जारी गर्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।