काठमाडौं- नेकपा विभाजन भएपछि कामचलाउ सरकारका प्रधानमन्त्री र मन्त्रीहरु पार्टीको संगठन विस्तार र प्रशिक्षणमा व्यस्त हुन थालेका छन्। पुस १० मा १३ औं पटक मन्त्रिपरिषद् विस्तार गरिएपछि मन्त्रीहरु पार्टी निर्माणमा खटिएका हुन्। त्यसका लागि उनीहरु देश दौडाहमा निस्किएका छन्। यस्ता कार्यक्रमको मुख्य प्रयोजन नेता कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउनु देखिन्छ।
मन्त्रीहरु मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओली समेत पार्टी काममा व्यस्त देखिन्छन्। पछिल्ला केही हप्ता उनी पार्टी काममा अत्यन्तै सक्रिय भएका छन्। पार्टीमा केन्द्रीय सदस्य थप्नेदेखि आफू पक्षका भेलालाई सम्बोधन गर्ने सम्मका काममा उनी व्यस्त छन्। उनी शुक्रबार मात्रै आफू पक्षको सभालाई सम्बोधन गर्न धनगढी पुगे।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाउने प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरुलाई पार्टी समृद्ध बनाउन खटाएको भन्दै आलोचना भइरहेका छन्। तर, न ओली रोकिएका छन्, न मन्त्रीहरु नै। केही दिनयता उनीहरुको भ्रमण र भाषण सम्पूर्ण रुपमा पार्टीकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको आलोचना गर्न केन्द्रित हुने गरेका छन्।
प्रधानमन्त्रीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भइसकेको छ। त्यसयता पार्टीका छुट्टाछुट्टै बैठक, भेला र प्रशिक्षणहरु चलिरहेका छन्। एक अर्कालाई कारबाहीको शृंखला तीव्र भएका छन्। त्यसमा प्रधानमन्त्री र मन्त्रीहरुले नै नेतृत्व गरिरहेका छन्। नवनियुक्त मन्त्रीहरु समेत मन्त्रालयको काम र परिस्थिति बुझ्नभन्दा देशका विभिन्न ठाउँमा पुगेर गाली गलौजमा उत्रिरहेका छन्।
सरकारका काम नै त्यागेर ओली पक्षको मात्र काममा व्यस्त भएको विषयमा जिज्ञासा राख्दा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै प्रतिक्रिया दिन चाहेनन्। 'यो विषयमा म अहिले केही पनि टिप्पणी गर्दिनँ,' उनले भने।
९ महिनादेखि सिंहदरबार गएका छैनन् ओली
प्रधानमन्त्री ओली विगत ९ महिनादेखि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नपुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। मन्त्रालयको कार्यसम्पादन सिंहदरबार पुगेर गर्नुपर्नेमा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्दै आएका छन्।
पार्टी बैठक समेत प्रधानमन्त्री निवासमा राख्दा सरकारी सम्पत्तिको दुरुपयोगको भएको आरोप लागे पनि उनले आफू सहभागी हुने कार्यक्रमलाई सकेसम्म बालुवाटारमै राख्ने गरेका छन्। पार्टी कार्यालय धुम्बाराही र सिंहदरबार जान कोरोना संक्रमणलाई कारण बनाइने गरिएको छ। तर, कार्यकर्तालाई सम्बोधन गर्न भने ओली काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कार्की ब्यांक्वेटदेखि धनगढीसम्म पुगेका छन्।
यस्ता मञ्चहरुलाई ओलीले अन्य नेतालाई अपमानित गर्न, सहयोद्धा नेताको आलोचना गर्न र गिज्याउन अवसरको रुपमा प्रयोग गर्ने गरेका छन्।
उपप्रधानमन्त्री पोखरेललाई भ्याई नभ्याई
पार्टी भेला, प्रशिक्षण गर्न सबैभन्दा धेरै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भ्याई नभ्याई छ। प्रधानमन्त्री ओलीपछि दोस्रो वरियतामा रहेका पोखरेल पुस १९ गते काठमाडौंबाट जिल्लास्तरका कार्यक्रममा निस्किएका हुन्। उनी यो महिनाभरी नै आफू पक्षका नेता कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै विभिन्न भेला गरी बिताउने भएका छन्।
बिहीबार पोखरेलले प्रमुख अतिथि भई सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे। त्यो कार्यक्रमपछि शनिबार हेटौंडामा हुने कार्यक्रममा पुग्ने पोखरेलको सचिवालयले जनाएको छ। हेटौडापछि पोखरेल सर्लाही, बारा, उदयपुर लगायत क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन्।
पोखरेलले पार्टीको बागमती प्रदेशको जिम्मा पाए पनि प्रदेश २ सम्म पुगेर कार्यक्रममा सहभागिता जनाएका छन्।
पोखरेलले आधा दर्जनभन्दा धेरै पार्टी बैठक भ्याएर उपत्यका बाहिर निस्किएका थिए। उपत्यकामा हुँदा पुस १५ गते काठमाडौंको कार्की पार्टी प्यालेसमा काठमाडौंमा उपलब्ध सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलामा पुगेका थिए। त्यस कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधानमन्त्री पोखरेल, उद्योग मन्त्री लेखराज भट्ट सहित अन्य मन्त्री र नेताहरु सहभागिता जनाएका थिए। पुस १८ गते काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री लगायत मन्त्रीहरु समेत सहभागिता जनाएका थिए। प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि पोखरेलले मजदुर विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुतलीसडक पुगेका थिए।
काठमाडौंबाट निस्किएपछि सबैभन्दा पहिलो कार्यक्रममा पोखरेलले गत पुस २० गतेको सिराहको चोहर्बामा सहभागी भए। सिराह जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई पोखरेल सहित नवनियुक्त सहरी विकास मन्त्री प्रभु साह लगायतले सम्बोधन गरे।
पुस २१ गते धनुषामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरे लगतै पोखरेलले पुस २२ गते सिन्धुलीको राटामाटा र रामेछापको मन्थलीमा आण्योजित कार्यक्रममा प्रमुख अतिथि भई सहभागिता जनाएका थिए।
पोखरेलले प्रधानमन्त्रीको मातहतमा काम गर्नेगरी प्रधानमन्त्री कार्यालयमा सरुवा गरे पनि पार्टीका काममा दैनिकी बिताउँदै आएका छन्। उनले आफ्नो क्षेत्राधिकारको काममा भन्दा पार्टी काममा व्यस्त हुने गरेका छन्।
गृहमन्त्री थापा पनि दौडधुपमै
पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पार्टी निर्माण गर्ने दौडधुपमा लागेका छन्। प्रचण्डलाई छोडेर ओली कित्तातिर पुगेका थापा पार्टी काममा निरन्तर लागेका छन्। पुस ९ गते अघिसम्म कतै नखुलेका थापा त्यसपछिका पार्टीका प्रायः कार्यक्रममा सहभागिता जनाउने गरेका छन्।
मन्त्रालयको कामलाई छोडेर भए पनि उनले काठमाडौंमा हुने प्राय स–साना कार्यक्रममा समेत सहभागी जनाएका छन्। थापाले गत पुस २० गते चितवन जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।
थापाले काठमाडौंमा हुँदा आधा दर्जनभन्दा धेरै साना ठूला पार्टीका कार्यक्रममा सहभागिता जनाएका थिए। उनी गत पुस १७ गते ललितपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भए। त्यस्तै पुस १८ गते काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए। यसअघि पार्टी कार्यक्रममा खासै सहभागी नहुने थापा पार्टी विभाजन भएपछि भने सक्रियतापूर्वक सहभागी हुने गरेका छन्। त्यस्ता कार्यक्रममा उनले प्रचण्डको आलोचना गर्दै ओली पक्षको वकालत गर्दै आएका छन्।
मन्त्री रायमाझी ११ दिनपछि मात्रै काठमाडौं फर्किने
प्रधानमन्त्रीले संसद विघटन गरेपछि नैतिकताका आधारमा वर्षमान पुनले राजीनामा दिएपछि उर्जा मन्त्रीको जिम्मेवारी सम्हाल्न टोपबहादुर रायमाझी पुगेका हुन्। प्रचण्ड निकट मानिने रायमाझीले उनलाई छोडेपछि ओलीले उर्जा मन्त्रीको जिम्मेवारी दिएका हुन्। पुस १० गते मन्त्री भएपछि ११ गते मात्रै मन्त्रीको कार्यभार सम्हालेका थिए।
मन्त्री भए लगतै मन्त्रालयको कामभन्दा काठमाडौं उपत्यकामा भएका ओली पक्षीय कार्यक्रममा सहभागिता जनाए। गत पुस १७ गते उपत्यका छोडेका रायमाझी ११ दिनपछि पुस २८ गते मात्रै काठमाडौ फर्किने बताए। पार्टी बैठक, छलफल र भेलालाई सम्बोधन गर्नुपर्ने भएकाले गृह जिल्ला अर्घखाँची रहेको रायमाझीले बताए। उपत्यका बाहिरबाट फर्किएपछि योजना बनाएर पार्टी काममा निरन्तर उनको तयारी छ।
रायमाझी पार्टीबाट जनसंगठनको जिम्मेवारी पाएपछि पुस १७ गते पोखरामा हुने बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगे। पोखराको कार्यक्रम सके लगतै अर्घाखाँचीको सन्धिखर्कमा आयोजित अगुवा कार्यकर्ता भेलामा सहभागी भए। आफ्नो गृह जिल्ला पुगेका रायमाझी गत पुस १९ गते बुटवलमा राखिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका थिए। बुटवलमा राखिएको कार्यक्रमपछि उनी आफ्नै गृह जिल्ला पुगेका छन्। त्यहाँका ६ वटै स्थानीय तहमा कार्यक्रम राखेर सम्बोधन गर्ने तयारी छ।
उनले पुस २६ गतेसम्म पालिकास्तरको कार्यक्रममै बिताउने भएका छन्। आगामी पुस २६ गते नवलपुरमा २७ गते दमौलीमा हुने कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौ फर्किने रायमाझीले बताए।
लेखराजलाई सुदूरपश्चिम, प्रभुलाई प्रदेश २
उद्योग मन्त्री लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशलाई ध्यान दिएका छन्। सुदुरपश्चिम प्रदेशको जिम्मा पाएपछि उनी उतै केन्द्रित भएका हुन्। भट्ट पार्टी बैठकपछि काठमाडौंमा हुने स–साना दर्जन भन्दा धेरै कार्यक्रम सकेर सुदूरपश्चिम लागेका हुन्। गत पुस २० गते सुदुरपश्चिम पुगेका भट्ट पुस २५ गते मात्रै काठमाडौं फर्किने तयारीमा छन्।
भट्टले यस बीचमा कैलाली र कञ्चनपुरमा हुने पार्टी कार्यक्रममा सहभागी भई समय बिताए। बुधबार उनले धनगढीमा प्रदेश कमिटी विस्तार गरी ५५१ जना पुर्याएको छ। शुक्रबार धनगढीमा हुने कार्यक्रमलाई प्रधानमन्त्री सहित उद्योग मन्त्री भट्ट, प्रदेश अध्यक्ष कर्ण थापाले सम्बोधन गर्ने भएका छन्। शुक्रबारको कार्यक्रम सकिएपछि मात्रै भट्ट आइतबार काठमाडौं फर्किने भएका छन्।
सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ मा पार्टी विस्तारमा खटिएका छन्। यसअघि पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका साह प्रचण्डलाई छोडेपछि सहरी विकास मन्त्री पट्काएका हुन्। मन्त्रीको जिम्मेवारी पाएपछि साह मन्त्रालयको कामभन्दा प्रदेश पार्टीको काममा खटिएका छन्।
गत पुस २० गते प्रदेश २ का जिल्ला झरेका साह तीन दिनपछि काठमाडौं फर्केका हुन्। उनले प्रदेश २ का पर्साको वीरगञ्ज, धनुषाको जनकपुर, सिराहको चोहर्वा, रौतहटको गरुडा लगायत क्षेत्रका पार्टी काममा खटिएका थिए। उनले तीन दिनमा आधा दर्जन कार्यक्रममा सहभागी भई काठमाडौं फर्किएका हुन्। साह पुस २७ गते बाराको कलैयामा हुने कार्यक्रमा जाने तयारीमा छन्।
पौडेल र थापा जिल्लाबाट फर्किए, अर्याल जाँदैपार्टी महासचिव एवम् अर्थ मन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री मणि थापा जिल्लाका कार्यक्रम सकेर फर्किएका छन्। दुई जना मन्त्रीले पार्टीले गरेका आधा दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी भई उपत्यका छोडेका थिए। पौडेलले पुस १५ गते वीरगञ्ज र पुस १९ गते बुटवलमा भएको पार्टी कार्यक्रममा सहभागिता जनाएका थिए। पार्टी कार्यक्रम सकेर पौडेल गत बुधबार मात्रै काठमाडौं फर्किएका हुन्।
त्यस्तै खानेपानी मन्त्री मणि थापा जाजारकोट र सुर्खेतमा भएका पार्टी कार्यक्रममा सहभागी भई बिहीबार काठमाडौं फर्किएका छन्। उनलाई पार्टीले कर्णाली प्रदेशको जिम्मा दिएकाले त्यहाँ हुने कार्यक्रममा सहभागिता जनाएका हुन्।
यस्तै कृषि मन्त्री पद्मा अर्यालले उपत्यका हुने कार्यक्रम सकेर शनिबार स्याङ्जा जाने भएकी छिन्। आफ्नो समूहको स्याङ्जाको गल्याङ, पुतलीबजार, वालिङ, फेदीखोला लगायत क्षेत्रमा हुने कार्यक्रमा सहभागी हुन जाने भएकी छिन्। उनी शनिबार स्याङजा पुगेपछि केही दिन बिताउने योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।