काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का २ वटा वाइडबडीले विगत साढे २ वर्षयता आधा क्षमतामा पनि उडान भर्न नसकेको पाइएको छ। व्यवस्थापन र नेतृत्वमा रहेका कर्मचारीहरू कमिसनको खेलमा लाग्दा र कोरोनाको चपेटाका कारण निगमका बाइडबडी क्षमताको आधा पनि उड्न नसकेका हुन्।
अन्तर्राष्ट्रिय उडानका लागि भन्दै झन्डै साढे २ वर्ष अगाडि खरिद भएका २ वटा वाइडबडी जहाजले अहिलेसम्म फुलफेजमा उडान गर्न सकेका छैनन्। कोरोना महामारी सुरु भएयता जहाज थन्किएकै अवस्थामा पुगेका छन्।
प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर खर्चेर खरिद गरिएका वाइडबडी जहाजले फुलफेजमा उडान गर्न नपाउँदा निगम निरन्तर घाटामा समेत जान थालेको छ।
आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब घाटा व्यहोरेको नेपाल एयरलाइन्सले आर्थिक वर्ष ०७६/७७ मा झन्डै ५ अर्ब घाटा व्यहोरेको अनुमान गरिएको छ। यद्यपि, घाटा विवरण अझै सार्वजनिक गरिएको छैन। २ वटा वाइडबडीको दैनिक उडान क्षमता १५ घण्टासम्म भएपनि अहिलेसम्म अधिकतम १० देखि ११ घण्टाभन्दा बढी उड्न सकेका छैनन्।
वाइडबडी फुलफेजमा उडान नहुँदा त्यसको प्रत्यक्ष असर जहाज खरिदका लागि लिइएको २५ अर्ब ऋणको किस्ता र ब्याजसमेत समयमै भुक्तानी हुन सकेको छैन। त्यही ऋण बढेर ३० अर्ब रुपैयाँ पुग्न लागिसकेको छ। निगमले झन्डै १० प्रतिशत ब्याजमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएको थियो।
निगमले पहिलो वाइडबडी ‘अन्नपूर्ण’ २०७५ असार १४ गते र दोस्रो वाइडबडी साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो। तर, व्यावसायिक उडान भने दुवै जहाज नेपाल आएको एक महिनापछिबाट सुरु भएको थियो। पहिलो वाइडबडी अन्नपूर्णले पहिलो व्यावसायिक उडान कतारको दोहाबाट सुरु गरेको थियो।
यसरी उडान सुरु भएको जहाजले अहिले साढे २ वर्षको अवधिमा सरदर प्रतिजहाज ६ हजार घण्टा उडान भरेका छन्। जसमा ‘अन्नपूर्ण’ले २०२० को डिसेम्बर १८ सम्म ५ हजार ८ सय ३१ घण्टा उडान भरेको छ भने १ हजार ६ सय १७ वटा उडान तथा अवतरण गरेको छ। जुन उडान गर्न सक्ने क्षमताको ४० प्रतिशत पनि नभएको। नेपाल एयरलाइन्सका वरिष्ठ पाइलटहरु बताउँछन्।
‘अन्नपूर्ण’को व्यावसायिक उडान भने २०७५ साउन १६ गतेबाट सुरु गरेको थियो। ‘नाइन एन एएलवाई’ कलसाइन दिइएको अन्नपूर्ण वाइडबडी ए३३०–२०० जहाजले २९ महिनामा निरन्तर रुपमा फूल फेजमा उडान गर्न पाएको भए १३ हजारघण्टा भन्दा बढी उडान गर्न सक्थ्यो। यो उडान घण्टा दैनिक १५ घण्टाको क्षमताको आधारमा हिसाब गरिएको हो।
यसैगरी, साउन १० गते नेपाल आएको दोस्रो वाइडबडी ‘मकालु’ ले भने भदौ १६ गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो। ‘कलसाइन नाइन एन एएलजेट’ दिइएको मकालुले अहिलेसम्म ६ हजार २८ घण्टा उडान भरेको छ। साथै १ हजार ७ सय १२ पटक उडान तथा अवतरण गरेको छ। जुन अन्नपूर्णकोभन्दा केही बढी हो। तर, यो पनि उडान क्षमताको ५० प्रतिशत मात्रै हो। मकालुको उडान अवधि पनि डिसेम्बर १८ सम्मको हो। मकालुले व्यावसायिक उडान सुरु गरेको २८ महिना भइसकेको छ। २८ महिनामा फुलफेजमा यसले उडान भर्न पाएको भए १२ हजार ६ सय घण्टा उडान भर्न सक्थ्यो।
किन फुलफेजमा उडेनन् वाइडबडी?
लामो दूरीको अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्न भन्दै ल्याइएका २ वटै वाइडबडीले फुलफेजमा उडान गर्न नसक्नुको कारण सरकारी लापरबाहीदेखि निगम व्यववस्थापनको कमजोरी हो। तर, पछिल्लो १० महिना भने विश्वमा आएको कोरोना महामारी पनि अर्को कारण हो।
फुलफेजमा वाइडबडीको उडान हुन नसक्नुमा सरकार पनि दोषी छ। वाइडबडी जहाज आउँदासम्म निगम महाप्रबन्धको जिम्मवारीमा सुगतरत्न कंसाकार थिए। उनले नै जहाज उडानको लागि व्यवस्थापन गरिरहेका थिए। तर, जहाजले व्यवसायिक उडान सुरु भएको केही साता पनि नबित्दै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीलाई 'बाइपास' गरेर प्रधानमन्त्री केपी ओली शर्माले निगमका पूर्व 'भगौडा' महाप्रबन्धक मदन खरेलललाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा ल्याए।
खरेल जिम्मेवारीमा आएपछि जहाज उडानका लागि आवश्यक गन्तव्यको खोजी गर्नुको सट्टा अघिल्लो व्यवस्थापनले थालेको कामलाई समेत रद्द गर्दै अगाडि बढ्न थाले। खरेलले नयाँ गन्तव्यमा उडान सुरु गर्न सकेनन्। नयाँ गन्तव्यको उडान सुरु गर्दा पनि घाटाको गन्तव्य जापानको ओसाकामा सुरु गरे। यो विवादितसमेत भयो।
त्यति मात्रै नभई जहाज उडानका लागि खरेलले पाइलट व्यवस्थापन गर्न पनि सकेनन्। खरेलले जहाज उडानका लागि नेपालकै जनशक्ति उत्पादनको सट्टा कमिसनको खेलमा विदेशी पाइलट भित्र्याउने खेलमा लागे।
अन्तत खरेलले २०७६ माघमा निगम कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिए। त्यसपछि केही समय निगम नेतृत्व बिहीन हुन पुग्यो। नयाँ गन्तव्यको खोजीमा निमगले ध्यान दिन सकेन। नेतृत्वविहीन अवस्थामा निगमले पुरानै गन्तव्यमा वाइडबडीबाट उडान गरिरह्यो। २०७६ चैतबाट सरकारले कोरोना रोकथामका लागि भन्दै अन्तर्राष्ट्रिय उडान बन्द गर्यो। भएका २ वटै वाइडबडीको उडान केही दिन बन्द भयो।
कोरोना सुरु भएपछि नै नेतृत्वविहीन नेपाल एयरलाइन्समा सरकारले पूर्वपर्यटन सचिव सुशील घिमेरिलाई कार्यकारी अध्यक्षमा नियुक्ति गर्यो। तर, घिमिरेले उक्त समयमा जहाज उडान गरेर आम्दानी गर्न सक्ने अवस्था नै रहेन। तैपनि, कोरोनाको समयमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले अष्ट्रेलिया तथा युरोपका मुलुकसम्म चार्टर उडान गर्न पायो। त्यस्तो उडान सिमित मात्रै थियो।
कोरोनाकै समयमा बोकेका सामानको समेत सरकारले अहिलेसम्म भुक्तानी गरेको छैन। स्वास्थ्य मन्त्रालयले विवादास्पद खरिद प्रक्रियामा ओम्नीको सामान बोकेको करिब २ करोड रुपैयाँ निगमलाई तिरेको छैन।
कोरोनाकै समयमा सरकारले विदेशमा अलपत्र परेका नागरिक नेपाल ल्याउन उडान अनुमति दियो। तर, त्यसरी उडान अनुमति दिँदा पनि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई नै बढी उडान अनुमति दिइएको थियो।
जहाज खरिदका लागि लिइएको २५ अर्ब ऋणको किस्ता र ब्याजसमेत समयमै भुक्तानी हुन सकेको छैन। त्यही ऋण बढेर ३० अर्ब रुपैयाँ पुग्न लागिसकेको छ।
दसैँपछि केही समय यात्रु पाएपनि निगमले यात्रु अभावमा कतारको दोहामा उडान गर्न वाइडबडी प्रयोग गर्न छोडेर एयरबस ३२० प्रयोग गर्न थालेको छ। भारतको दिल्लीमा पनि अहिले एयरबबल उडान भएको छ। उक्त गन्तव्यमा पनि पहिले निगमले वाइडबडी प्रयोग गर्ने गरेको थियो। यात्रु अभावका कारण खर्च धान्न नसक्ने अवस्थामा भएपछि त्यहाँ पनि एयरबस ३२० नै उडान गर्दै आएको छ।
वाइडबडीको अर्को गन्तव्य हङकङमा पनि कोरोना परीक्षणमा ल्याबको लापरबाहीका कारण ४ पटकसम्म १५/१५ दिनसम्मको उडान प्रतिबन्ध खेप्न निगम बाध्य भयो। अहिले भने निगमले हङकङमा एक सातामा एक उडान गर्दै आएको छ। यो उडानमा वाइडबडी प्रयोग हुँदै आएको छ।
यसैगरी, निगमले वाइडबडी जहाजमार्फत् जापानको नारितामा उडान गर्दै आएको छ। नारिताका लागि सातामा एक उडान गर्दै आएको निगमले अहिले भने २ वटा उडान गर्न थालेको छ। निगमले वाइडबडीका लागि नयाँ गन्तव्य खोजी कार्यलाई तीव्रता दिएको छ।
कोरोना महामारीको असर कम भएसँगै निगमले चीन, कोरिया र साउदी अरबका केही गन्तव्यमा वाइडबडीमार्फत् उडान गर्ने तयारी थालेको छ। निगमले योसँगै पछिल्लो समय वाइडबडीको उडान खर्च पनि क्रमशः कटौती गर्दै लगेको छ। कुनै बेला १८ जना विदेशी पाइलटलाई प्रतिव्यक्ति २० लाखभन्दा बढी तलब दिँदै आएको निगमले अहिले ४ जना मात्रै विदेशी पाइलट वाइडबडी उडानमा राखेको छ। उनीहरुको तलब पनि निगम नयाँ नेतृत्वले घटाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।