काठमाडौं- जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो येचौसहितको टोलीले भेटवार्ता गरेको छ।
अध्यक्ष भट्टराई निवास टोखामा सोमबार भएको भेटमा आपसी हित, द्विपक्षीय चासो र दुई देशको सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ।
यस्तै उपमन्त्रीले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरे।
उपमन्त्रीले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताएको डा भट्टराईलाई उद्धृत गर्दै जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरे। भेटमा उनले अध्यक्ष भट्टराईसँग नेपाल र चीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।