काठमाडौं– ‘कोरोनाको महामारी त्यसमाथि सरसफाइको काम, कत्तिको डराउनु भएको छ?’ यो मेरो प्रश्न नयाँ बसपार्कमा सरसफाइको काम गर्दै भेटिएकी एक महिलाका लागि थियो।
‘के को डर?’ उनले चर्को स्वर निकालिन्। जस्तो मैले उनलाई जिन्दगीकै सबैभन्दा रीस उठ्ने प्रश्न सोध्दैछु।
‘त्यसो भए ढुक्कसँग काम गरिराख्नु भएको छ?,’ उनको रिसको झोकमाथि मैले यो प्रश्न थपिदिएँ। उनी नसुने झैँ काम गरिरहिन्।
‘मैले त्यही प्रश्नलाई केही परिमार्जन गरेर दोहोर्याएँ, त्यसो भए कोरोनासँग त्यति धेरै डराउनु भएको छैन?’
‘डराएर पनि के गर्नु?, खानुपर्यो‚ छोराछोरी पाल्नुपर्यो। डराएर पैसा आउँदैन,’ यो पटक भने उनी मलिन स्वरमा बोलिन्।
उनी अर्थात् दुर्गा नेपाली। उमेर ३४ वर्ष। शरीर हृष्टपुष्ट। सरकारी जागिरेकी श्रीमती। काम क्लिनर।
हामी अधिकांशलाई लाग्न सक्छ,‘कोही सरकारी जागिरेकी श्रीमती पनि सरसफाइको काम गर्लिन् र? कामलाई हेप्ने होच्याउने प्रवृति देख्दै र भोग्दै र त्यही प्रवृत्तिसँग घुलमिल हुँदै आएका तपाईं/हामी कतिपयको दिमागले यस्तै सोच्न भ्याउला।
कतिपयले त उनलाई भन्छन् पनि रे, ‘टन्न कमाउँने पुलिस श्रीमान् हुँदाहुँदै त्यस्तो सरसफाईको काम पनि के गरेकी?’
हुन पनि हो अरुले भने भनेजस्तै दुर्गाका श्रीमान नेपाल आर्मीको जागिर खान्छन्। तर तपाईं/हामीले बाहिरबाट देखेको र सोचेको जस्तो सरल छैन दुर्गाको जिन्दगी। सोचाइ र देखाइभन्दा ठ्याम्मै अलग छ उनको भोगाइ।
उनका श्रीमानको कमाइ महिनामा बढीमा ३५ हजार हुन्छ। त्यो कमाइले पाल्नुपर्ने परिवारको संख्या ठूलो छ। उनीहरुका सन्तानमात्रै ५ जना छन्। त्यसमाथि वृद्धावस्थामा पुगेका आमाबुबा। अनि भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण।
‘मैले कमाएको पैसाले काठमाडौंमा खान पुगे त बुढाले कमाएको पैसाबाट छोराछोरीलाई कापी कलम किन्न र ऋणको किस्ता हाल्न पनि पुग्छ भनेको तर खै कमाइ धेरै छैन,’एकछिन रोकिएर उनी लामो श्वास तान्छिन्।
उनी सरसफाइको कामबाट मासिक १३ हजार ५ सय कमाउँछिन्। तर बसभाडामै दैनिक ४० रुपैयाँका हिसाबले मासिक १२ सय सकिन्छ। खाजा कम अथवा कहिलेकाँही खाएर पैसा बचाउँछु भन्दा पनि महिनामा २/३ हजार त सकिन्छ। बाँकी पैसा कोठाभाडा तिर्दै ठिक्क हुन्छ। बाँकी घर खर्च उनका श्रीमानले कमाएको रकमबाट टार्दै आएका छन्। उनीहरुले मुस्किलले बच्यो भने साहुको ऋणको किस्ता पनि कहिलेकाँही त्यसैबाट घटाउँछन्।
ऋणले थिचेका दुई दम्पति दिनरात खट्दा पनि छाक टार्न मुस्किल छ। अरु आधारभूत आवश्यकता पुरा गर्ने त कता हो कता? बिरामी भए भने उपचारका लागि ऋण लिनुपर्ने अवस्था छ।
५ जना छोराछोरीलाई काठमाडौंमा राखेर पढाउन सम्भव नदेखेपछि उनीहरुले छोराछोरी गाउँमै छाडेका छन्। जसोतसो कापिकलम खर्च जुटाएर सामुदायिक विद्यालयमा पढाएका छन्।
दुई जना मिलेर काम गर्यो भने घर बनाउँदा लागेको ऋण तिर्न सकिन्छ कि भनेर दुर्गा पनि कस्सिएकी छन्। खर्चमा थपथाप पार्नका लागि आफूले गरेको कामलाई जोडेर अरुले आफूलाई होच्याए पनि उनी बेपरवाह बनिदिएकी छन्। नसुनेझैँ गरेर आफ्नो कामलाई निरन्तरता दिएकी छन्।
‘अरुले के भन्छन् भनेर काम गर्न लाज मानेर त भोको पेट भरिँदैन। आफूले पढेलेखेको छैन,’ उनी भन्छिन्, ‘जसले जे भने पनि आफ्नो बलले भ्याएसम्मको काम गर्न कुनै मलाई कुनै अप्ठ्यारो लाग्दैन।’
यसअघि देखि नै उनी ज्याला मजदूरी नै गर्थिन्। काठमाडौं छिर्नुभन्दा अगाडि गाउँकै नेपाली कागज कारखानामा काम गर्थिन्। जति काम गर्न सक्यो त्यति कमाइ हुन्थ्यो। उनी भने महिनामा १२ हजारसम्म कमाइ गर्थिन्।
तर त्यहाँ धेरै पानीमा रहेर काम गर्नुपर्थ्यो। पानीमा काम गर्दा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो।
‘त्यहाँ पानी धेरै चलाउनुपर्थ्यो। पानीका कारण मेरा हातखुट्टाहरु सुनिन थाले। डाक्टरलाई देखाउँदा धेरै पानी नचलाउन सल्लाह दिनुभयो। त्यसपछि त्यो काम छाडेर अहिले यो थालेको।’
बसपार्कमा सरसफाइको काम पनि उनले गत वर्षको फागुन महिनादेखि मात्रै थालेकी हुन्। उनले काम थालेको केही समयमै कोरोना महामारी फैलियो।
त्यसपछि लकडाउनमा सरसफाइको काम पनि ठप्प भयो। पछि यातायात सञ्चालनमा सरकारले अनुमति दिएपछि बल्ल उनको काम सुरु भयो।
उनले बल्लतल्ल पाएको काम पनि कोरोनाले झण्डै खोसिदिएको। नत्र काठमाडौंमा काम पाउँन थोरै मुस्किल पर्छ। कमाई थोरै भए पनि दुईजनाले मिलेर गर्दा घरखर्च टार्न केही सहज हुने भएपछि उनी सक्दो खटेकी छन्। तर दिनभरी खटेको कमाइले उनी एक्लै मात्रैलाई पनि ढुक्कले दुई छाक खान पुग्ने अवस्था छैन। राज्यले श्रमको मूल्य बुझ्न नसक्दा थुप्रै दुर्गाहरुले पसिनाको बदलामा अपमान खेप्नुपर्ने अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।