काठमाडौं- राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशभर प्रदर्शन गर्ने भएकाे छ। बिहीबार बसेकाे बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे हाे।
भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ।
२०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय गरेकाे छ।
पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्याली गर्ने, पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय राप्रपाले गरेकाे छ।
पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिने राप्रपाले जनाएकाे छ। त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्ने निर्णय गरेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।