काठमाडौं- संवैधानिका कानुनका विज्ञहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। सरकारबाट सिफारिस हुने बित्तिकै अध्यादेश जारी गर्ने र खारेज गर्ने कार्यमा राष्ट्रपति भण्डारीको भूमिकालाई लिएर उनीहरूले प्रश्न उठाएका हुन्।
पछिल्लो पटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट सिफारिस भएलगत्तै जारी गरेपछि राष्ट्रपतिको भूमिकामाथि उनीहरूले आलोचना गरेका हुन्।
‘संविधानको धारा ६१ अन्तर्गत ‘संविधानको पालना र संरक्षण गर्ने’ आफ्नो गहन संवैधानिक कर्तव्यप्रति पूर्ण सचेत भएर अध्यादेश जारी गर्ने अधिकारको किन्चित दुरुपयोग हुन नदिनेतर्फ गरिमामय ‘राष्ट्रपति’ संस्थाको भूमिका सदा सर्वदा अपेक्षित हुन्छ,’ मञ्चको विज्ञप्तिमा भनिएको छ, ‘तथापि राष्ट्रपतिबाट सो संवैधानिक भूमिका निर्वाह हुन नसक्नु संविधानवादको दृष्टिबाट गम्भीर चिन्ताको विषय बनेको छ।’
अध्यादेश जारी गर्ने कार्यकारीको ‘अपवादात्मक शक्तिको स्वेच्छाचारी एवं नियमित प्रयोगको खतरनाक प्रवृतिप्रति अघि नबढ्न संवैधानिक कानुनका जानकारले आग्रह पनि गरेका छन्। संवैधानिक कानुन व्यवसायी मञ्चले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेको हो।
'संघीय संसदको दुवै सदनको अधिवेशन नचलिरहेको र तुरुन्तै अधिवेशनको संभावना पनि नरहेको अवस्थामा तत्काल केही गर्न जरुरी भएको तर कानुनी रिक्तताको कारण उक्त काम गर्न बाधा उत्पन्न भएमा मात्रै अध्यादेश जारी गर्न सकिन्छ,’ मञ्चको विज्ञप्तिमा भनिएको छ, ‘तर प्रचलित कानुनको इमान्दार परिपालना वा कार्यान्वयनको दायित्वलाई पन्छाउने अर्थात् अन्यथा गर्ने गरी वा अन्य कुनै निहित उद्देश्यबाट प्रेरित भएर संविधानको धारा ११४ अन्तर्गत अध्यादेश जारी गर्न मिल्दैन। त्यसो गर्नु संविधानको धारा ११४ को जालसाजीपूर्ण प्रयोग हुन्छ।’
संविधान पालनाको सपथप्रति इमान्दार बनेर संवैधानिक परिषद्सम्बन्धी प्रचलित संवैधानिक तथा कानुनी प्रावधानहरूको यथोचित परिपालना गरी लामो समयदेिख रिक्त संवैधानिक पदमा नियुक्तिको कर्तव्य अविलम्ब पूरा गर्न संवैधानिक परिषद्का सम्पूर्ण पदाधिकारीहरूलाई मञ्चको आग्रह छ।
‘कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिमा व्यक्तिगत लहड, गुटगत तथा दलगत स्वार्थ सिद्धिबाट माथि उठेर संवैधानिक कर्तव्यप्रति निष्ठावान रही शासन व्यवस्था सञ्चालन गर्न गराउनसमते सरकार तथा राजनीतिक दललाई आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।