नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। तर समाधानका सूत्रहरु पहिचान हुन सकेको छैन। नेताहरु एक अर्को पक्षलाई सार्वजनिक रुपमै दोषारोपण गर्न व्यस्त छन्। यस्तो लाग्छ- नेकपामा एकताका लागि भन्दा पनि फुटका लागि प्रयत्न भइरहेका छन्। शक्ति खर्च भइरहेका छन्। तर पार्टी विभाजन हुँदैन भन्ने दाबी पनि नेकपाका नेताहरु गर्न छाड्दैनन्।
नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीसँग नेपाल लाइभले सहमति र विमतिका विषय, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव, पुस्तान्तरण लगायतका विषयमा कुराकानी गरेको छः
केपी ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिएर भदौ २६ को निर्णयमा फर्किनुपर्ने भन्नुभएको छ। प्रचण्डले भने दुवै अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुपर्ने बताउनुभएको छ। यस्तो अवस्थामा विवाद अन्त्यको विधि के हुन सक्लान्?
प्रधानमन्त्रीले भनेजस्तै भदौ २६ को निर्णयमा फर्किने अवस्था छैन। त्यसमा फर्किने सम्भावनालाई प्रधानमन्त्रीले आफैंले खारेज गरिसकक्नुभएको छ। त्यो निर्णयको सर्कुलर पठाउने बेलामा नै उहाँले त्यो निर्णयलाई मान्दिनँ भन्नुभयो। सर्कलुरमा हस्ताक्षर गर्न मान्नुभएन। यसरी बैठकमा सहमति गर्ने तर पछि त्यसलाई नमान्ने भएपछि उहाँको कान कसले फुक्छ? र, कसले उहाँलाई गलत धारणा बनाउन प्रेरित गर्छ? यो चिज पत्ता लगाउन गाह्रो छ।
भदौ २६ को निर्णय उहाँले नै उल्लंघन गरिसक्नुभएको छ। त्यो निर्णय प्रधानमन्त्रीको अनुकूलतामा थियो। प्रधानमन्त्री पनि तपाईं नै रहनुस्, अध्यक्ष पनि तपाईं नै रहनुस् भनिएको थियो। बैठक सञ्चालनको अधिकार मात्रै प्रचण्डलाई देऊ भनिएको थियो। सबै हिसावले त्यो निर्णय प्रधानमन्त्रीको अनुकूलतामा थियो। तर उहाँले त्यसलाई उल्लंघन मात्रै गर्नुभएन, पार्टीलाई पनि च्यालेन्ज गर्नुभयो। स्थायी कमिटी र सचिवालयलाई च्यालेन्ज गर्नुभयो। प्रधानमन्त्रीले प्रचण्डलाई उपाध्यक्ष भएजस्तै गरी हतोत्साही गर्न थाल्नुभयो। प्रधानमन्त्रीमा पार्टी एकतासँग सम्बन्धित धारणा नै गलत रहेछ। धेरै घटनाले यसलाई पुष्टि गर्छ।
प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा आरोप मात्रै छैन। त्यहाँ सैद्धान्तिक र राजनीतिक विषय छन्। प्रवृत्तिगत विषय छन्। प्रधानमन्त्रीको अहिलेको प्रवृत्ति के हो? त्यो पुँजीवाद हो? गैरकम्युनिस्ट हो? व्यक्तिवादी हो? अधिनायकवादी हो? प्रचण्डले पेश गरेको प्रतिवेदनलाई नियालेर हेर्यौं भने प्रधानमन्त्रीको प्रवृत्ति देखिन्छ। एउटा नेतृत्वको रुपमा प्रधानमन्त्रीले कुन प्रवृत्तिको प्रतिनिधित्व गर्नुहुन्छ, त्यही कुरालाई प्रचण्डको प्रतिवेदनमा किटानी गर्न खोजिएको छ। यो सैद्धान्तिक विषय हो। सैद्धान्तिक रुपमा नउठाए पनि संश्लेषण भने सैद्धान्तिक रुपमा गर्न सकिन्छ।
प्रचण्डको काउन्टरमा प्रधानमन्त्रीले जुन जवाफ दिनुभएको छ। त्यसमा प्रधानमन्त्री फितलो रुपमा प्रस्तुत हुनुभएको छ। मेरा पनि केही गल्ती भए होलान् भनी आत्मालोचित ढंगले प्रस्तुत हुनुभएन। पार्टी एकता पछिका कुरा केही पनि उठाउनुभएन। एकता पहिलेका कुरा उठाइदिनुभयो। जनयुद्ध र शान्तिकालपछिका कुरा उठाउनुभयो। राष्ट्रपति किन बनाइनस्? बहसलाई दश वर्षअघि लगिदिनुभयो। अहिलेको नेकपा त्यो ठाउँमा छैन। पार्टी एकतापछिको समयको छलफल गर्नुपर्ने थियो। देश, जनता, युवाका समस्या सहित कोभिडले पारेको जर्जर अवस्था, अर्थतन्त्र, रोजगारी गुमाएकाको विषयमा छलफल हुनुपर्ने हो। बहस यसमा नभएर विगततिर फर्केर भएको छ। त्यसकारण उहाँ गलत ठाउँमा हुनुहुन्छ।
छलफल हुनुपर्छ भनेपछि उहाँ आत्तिने किन? उहाँलाई डरलाग्दो 'पार्टी फोबिया' छ। पार्टीदेखि उहाँ आतंकित हुनुभयो
विगतको थोत्रो बहसतिर हामीलाई फर्किनु छैन। त्यसलाई इतिहासको पानामा थन्काइदिए हुन्छ। हामीलाई चाहिएको आजको र भोलिको कुरा हो। समृद्धि र समाजवादको मार्गचित्र चाहिएको बेलामा उहाँहरु विगतका कुरा खोतल्न लाग्नुभएको छ। आफैंले आफ्नो उचाइ घटाइरहनुभएको छ। त्यसमा बढी लालायित भने प्रधानमन्त्री हुनुहुन्छ।
प्रतिवेदन त पार्टी कमिटीमा गइसक्यो। स्थायी कमिटीमा विषयवस्तु छलफल हुन्छ। त्यसलाई समाधान गर्ने विधि रेडिमेड नहुन सक्छ। एउटा विधि अल्पमत र बहुमतको हो। दोस्रो विधि सहमतिको हो। तेस्रो विधि आत्मालोचना र रुपान्तरण हुने हो। पार्टीको विधि र पद्धतिभन्दा दायाँ बायाँ कोही पनि जादैनौं भन्ने हो। जेजे भयो त्यसलाई सच्याएर विधिमा फर्किने भन्ने हो।
प्रधानमन्त्री केपी ओली नेकपाको नेता हो कि होइन भन्ने ठाउँमा पुग्नुभयो। पार्टीको निर्णय मान्दिनँ, बैठक डाक्दिनँ, बैठकमा आउँदिनँ भन्नुभयो। त्यसभन्दा डरलाग्दो, यताउति धेरै गर्नुभयो भने कुर्सी भाँचिदिन्छु भन्नुभयो। यो सिस्टम सिध्याइदिन्छु भन्नुभयो। अरुलाई जिम्मा दिनुभन्दा संरचना नै सिध्याइदिन्छु भन्नुभयो। उहाँले संघीयता र गणतन्त्र नै सिध्याउने कुरा गर्नुभयो।
कर्णालीको सन्दर्भमा बोल्दा संघीयता विरोधी अभिव्यक्ति दिनुभयो। उहाँका कारणले पार्टीभित्र धेरै आशंकाहरु पैदा भए। उहाँले सोच्ने मूल 'ट्रेण्ड'मै गम्भीर समस्या छन्।
पार्टी एकता हुँदा महाधिवेशनसम्म सबै निर्णय सहमतिको आधारमा गर्ने भनिएको छ। अल्पमत र बहुमतबाट निर्णय गर्न खोजेर प्रचण्ड- माधव नेपाल पक्षले दुर्घटना निम्त्याउने खोजे भनिरहनुभएको छ नि?
त्यो गलत हो। सहमतिलाई तोड्ने काम प्रधानमन्त्रीले गर्नुभयो। पार्टी एकताको बेलामा प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको थियो। अस्थिरता हुन्छ भन्दै प्रचण्डले तपाईं नै चलाउनुस् भन्दै ओलीलाई छोडिदिनुभयो। पछिल्लो वर्ष अर्को सहमति भयो। त्यो पनि प्रधानमन्त्रीले मान्नुभएन। वैशाख र भदौको निर्णय पनि मान्नुभएन। ४५ जना स्थायी कमिटी बसेर गरेको निर्णयलाई मान्नुभएन। कमिटीको निर्णय पनि उल्लंघन गरेपछि कहाँ जाने?
प्रधानमन्त्रीमा रहेको अहंकारले सबै वातावरण बिग्रिएको हो। प्रधानमन्त्रीमा रहेको व्यक्तिवाद र एकाधिकारवादले पार्टीमा समस्या आएको छ।
सहमति हुँदैन, भएको सहमतिमा प्रधानमन्त्री जानुहुन्न। प्रधानमन्त्रीलाई जे जे लाग्यो, त्यसमै ल्याप्चे लागे सहमति हुने। अर्को पक्ष पनि छ, छलफल हुनुपर्छ भनेपछि उहाँ आत्तिने किन? उहाँलाई डरलाग्दो 'पार्टी फोबिया' छ। पार्टीदेखि उहाँ आतंकित हुनुभयो। आन्तरिक छलफल गरेर सचिवालयमा के समस्या छ भन्नुस् भन्दा के हुने? कार्यकर्ता मनोबल गिर्ने काम नगरौं भन्नुपर्ने हो। जनताको मनोबल नगिराऔं, पार्टीभित्रै हल गरौं भन्नुपर्ने हो। महानता देखाउनुपर्ने हो। उहाँ महानता त रहेनछ।
तुच्छ तरिकाले गाली गलौजमा उत्रने गर्नुभएको छ। तुच्छ तरिकाले खुइलाउने तरिकाले लाग्नुभएको छ। त्यति मात्रै होइन, प्रधानमन्त्रीको पद जोगाउन दिल्लीको शरण पर्न थाल्नुभयो। नाकाबन्दीमा उहाँको उचाइ बढेको थियो। तर अहिले 'रअ' प्रमुखदेखि भाजपाका नेतासम्मलाई भेट्नुभयो। सबै हेर्दा 'पार्टीसँग झुक्नुभन्दा तिमिसँग झुक्छु तर सत्ता बचाइदेऊ' भन्ने देखियो। यो बर्बादीको कुरा हो। विदेशी शक्तिको आडमा फेरि पनि सत्ता टिकाउन खोज्ने डरलाग्दो प्रवृत्ति देखापरेको छ।
सामान्य सहमतिको बिन्दुमा दुई अध्यक्ष अहिले हुनुहुन्न। फर्किने नै है भने पार्टी एकता गर्दाको सहमतिमा फर्किनुपर्छ। भदौ २६ मा होइन। प्रधानमन्त्री तयार हुनुहुन्छ? प्रचण्डले एकपटक त्याग पनि देखाउनुभयो। पार्टी एकताको बिन्दुलाई पार्टी एकताको बिन्दु बनाउनुपर्छ।
प्रधानमन्त्रीमा रहेको अहंकारले सबै वातावरण बिग्रिएको हो। प्रधानमन्त्रीमा रहेको व्यक्तिवाद र एकाधिकारवादले पार्टीमा समस्या आएको छ। एउटा व्यक्तिका कारण सिंगो आन्दोलन धरासायी हुनुपर्ने अवस्था छ। टुप्पोमा बसेको पहिलो नेता दाबी गर्नेबाट नै सबैभन्दा तुच्छता देखाइएको छ। सबै सकिने थाहा हुँदाहुँदै पनि सिद्धिने मुर्खताले 'घर डढाएर खरानी जम्मा गर्ने' प्रवृति देखियो।
प्रधानमन्त्रीले आफूलाई सहज रुपमा सरकार सञ्चालन गर्न पार्टीभित्रैबाट अवरोध गरिएको आरोप लगाउनुभएको छ। यसलाई तपाईंले कसरी लिनुभएको छ?
सरकार सञ्चालनका विषयमा कहीँ पनि असहयोग भएको छैन। सरकार सञ्चालनका विषयमा उहाँले कति पटक पार्टी कमिटीमा छलफल गर्नुभयो? सरकारले के गर्यो? बजेट ल्याउँदा कसरी ल्याउने? जनतामुखी कार्यक्रम के हुन सक्छन्? तपाईंले सुझाब दिनुहोस् भनेर पार्टीमा भन्नुभयो र? यो तीन वर्षमा पार्टीको कुनै कमिटीमा एक दिन भन्नुभयो? भन्नुभएको छैन। तल स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आधा समय बित्यो, अलिकति समीक्षा गरौं र नयाँ ढंगले अगाडि जाऔं भनेर प्रस्ताव कसले ल्याउनुपर्थ्यो? प्रधानमन्त्रीले होइन? ल्याउनुभयो त? ल्याउनुभएन।
केही सामान्य राजनीतिक नियुक्ति र भागबण्डाको विषयमा विवाद भयो होला। त्यसलाई मानियो। तर त्यत्तिले गर्दा सरकार असफल हुन्छ? त्यतिको लागि मात्रै उहाँ प्रधानमन्त्री हुनुभएको हो?
असहयोग केमा गर्यो? केही सामान्य राजनीतिक नियुक्ति र भागबण्डाको विषयमा विवाद भयो होला। त्यसलाई मानियो। तर त्यत्तिले गर्दा सरकार असफल हुन्छ? त्यतिको लागि मात्रै उहाँ प्रधानमन्त्री हुनुभएको हो? आफ्ना गुटका केही व्यक्तिलाई राजनीतिक नियुक्ति दिनका लागि मात्रै बस्नुभएको हो त? देश बनाउने संकल्प र जिम्मेवारी छैन त उहाँसँग? जनतालाई हामीले समृद्धि दिन्छौं भने संकल्प गरेको होइन? समाजवादको यात्रामा लैजान्छौं भनेको होइन? त्यो संकल्पमा सरकार कति सफल भयो? संघीय, प्रदेश र स्थानीय सरकारका कामकाजलाई प्रभावकारी बनाउनका लागि सिंगै पार्टी परिचालन गरौं। कार्यकर्तालाई आर्थिक उपार्जनमा कसरी लगाउने हो, आत्मनिर्भरतातर्फ कसरी लैजाने, पुँजीवाद कसरी परास्त गर्ने? खै त योजना, खै त अभियान? खै एजेन्डा? प्रधानमन्त्रीले राख्नुभयो त?
उहाँले सरकार सञ्चालन गर्न सक्नुभएको छैन। त्यसलाई जनताले पनि मूल्यांकन गरिरहेका छन्। किनभने अहिले पनि नेकपाले ९ महिने सरकारको कामलाई भजाएर टिक्नुपरेको छ। आफ्नो गाउँ आफैं बनाऔं, बृद्धभत्ता जस्ता नारा दुई तिहाइको सरकारको समयमा भजाउनुपर्ने? यतिबेला त ऐतिहासिक रुपमा जनताले सम्झिने गरी, अनुभूत गर्ने गरी काम हुनुपर्थ्यो। हामीले बजेट बनाउनुअघि सुझाब दिएका थियौं। जनतामा एउटा उत्साह पनि आउँछ, कम्युनिस्ट सरकारका समयमा 'एक परिवार एक रोजगार' घोषणा गर्नुहोस्। म आफैं गएँ, आफैंले सुझाब दिएको छु, दुई वर्षअघि। स्थानीय तहलाई डाटा ल्याउन भन्नुहो्स। किनभने अहिले सजिलो छ, वडावडामा सरकार छ। त्यसले पूर्ण तथ्यांक ल्याउँथ्यो र त्यसलाई हल गर्ने कार्ययोजना छ, हामीसँग। प्रचण्ड प्रधानमन्त्री हुँदा हामीले अभ्यास गरेका थियौं। युवाहरुलाई व्यवसायिक रुपमा अघि बढाउने, कृषिमा व्यवसायिक प्रविधिको अघि बढाउने, योग्यता पुगेकालाई रोजगारी दिने। यस्तो गरे जनतामा उत्साह हुन्छ।
युवाहरु विदेशिने क्रम छ, रोजगारी गुमाएर फर्किने अवस्था छ। उनीहरुलाई काम दिन्छौं भनेर घोषणा गर्ने र त्यही अनुसार वातावरण तयार पार्ने। व्यवसायिक रुपमा १८ वर्ष कृषि गर्नेलाई त्यसपछि पेन्सन दिने सरकारले घोषण गरोस्। सबै कृषिमा फर्किन्छन्। किन मान्छेहरु कृषितर्फ छैनन् भने त्यहाँ उमेर गएपछि केही पाइँदैन। जागिर खाएमा त पेन्सन पाइन्छ। अरु चिज आउँछ। त्यो सम्भावना थियो। हामी कृषि प्रधान देश भन्ने, सबै कुरामा परनिर्भर हुने। यस्तो कुराबाट कसरी समृद्धि आउँछ? केको आउँछ समाजवाद?
राजनीतिक संघर्षमा अब्बल साबित भएका नेताहरु अभियानमा पनि अब्बल साबित हुनुपर्यो नि त। कि भन्नुपर्यो, हामीले यो व्यवस्थापकीय मामलामा सकेनौं, अब अरुले जिम्मा लिनुहोस्। कि रियलाइजेनस गर्नुपर्यो, गर्न कोसिस गर्यौं तर हाम्रो बुताले, हाम्रो चेतनाले, हाम्रो अनुभवले भ्याएन। किनभने उहाँहरुलाई हामीले बारम्बार भनेका छौं, राजतन्त्रसँग संघर्ष गर्नुभयो, सामन्तवादसँग संघर्ष गर्नुभयो, त्यससँग सहकार्य र संघर्ष गर्दा उहाँहरुमा पनि त्यो प्रवृत्ति र सामान्तवाद सर्यो। आज हाम्रा नेताहरु कोही कम्युनिस्ट जस्ता लाग्दैनन्। उठबस, रहनसहन, हिँडाइडुलाइ, भाषा, संस्कृति, सोच्ने तरिका र मनोवृत्ति हेर्दा उहाँहरु कम्युनिस्ट हो जस्तै लाग्न छाड्यो। यो तहसम्मको स्खलन आइसकेपछि अब हामीले नबोले कसले बोल्ने? अब हामीले खबरदारी नगरे कसले गर्ने? यस्तो अवस्थामा पार्टी पुगेको छ। यसलाई रुपान्तरण गर्न नयाँ शिराबाट संघर्ष गर्नुपर्छ। यो उहाँहरुले दुइ जनाले ल्याएको प्रतिवेदन वरिपरिबाट आजको नेकपाको समस्या हल हुँदैन।
मैले त एकताको बेला पनि भनेको थिएँ, यो एकता नेपालको कम्युनिस्ट आन्दोलनको बिसर्जन नबनोस्। रुपमा हेर्दा एकता, सबैले सहमति गरे, जनताले अनुमोदन गरे। तर, सारमा नेपालको कम्युनिस्ट आन्दोलनको विघटन।
मैले त एकताको बेला पनि भनेको थिएँ, यो एकता नेपालको कम्युनिस्ट आन्दोलनको बिसर्जन नबनोस्। रुपमा हेर्दा एकता, सबैले सहमति गरे, जनताले अनुमोदन गरे। तर, सारमा नेपालको कम्युनिस्ट आन्दोलनको विघटन। किन विघटन भने उहाँले विचारमा, सिद्धान्तमा, कार्यविधिमा छलफल नगरी एकता गर्नुभयो। त्यस्तै, दुईजना नेतालाई पनि सबै अधिकार दिएर सुप्रिमो बनाइयो। त्यो नै कम्युनिस्ट आचरण र मूल्यमान्यता विपरीत थियो।
कार्यक्रमिक हिसाबले नेपालको समृद्धि के हो? हामीले कसरी समृद्धि हासिल गर्न सक्छौं? अहिले एउटा स्थानीय तहको उदाहरण लिऔं। मानौं कर्णालीको हुम्लाको एउटा स्थानीय तहले तीन वर्षमा समृद्धिका लागि कति आधार बनायो? ताप्लेजुङको स्थानीय तहले कति आधार बनायो? जहाँ नेकपाको सबै सेट छ। वा, प्रदेश सरकारले कति बनायो? संघीय सरकारले कति बनायो, यसमा आवधिक मूल्यांकन गर्नुपर्ने होला नि त।
अहिले प्रचण्ड-नेपाल पक्षले विधि र प्रक्रिया भनिरहे पनि अन्तर्यमा भागबण्डा र 'पावर सेयरिङ' को कुरा हो भन्ने ओली पक्षको आरोप पनि छ नि?
यो गलत हो। दुई तीन वर्ष उहाँहरुले त्यही गर्नुभयो। त्यसैले अहिले उहाँहरु भ्रममा हुनुहुन्छ। अब चोचोमोचो मिलाएर र भागबण्डा मिलाएर र व्यक्तिको व्यवस्थापन गरेर नेकपाको समस्या समाधान हुँदैन। अब नेकपाको समस्या जनतामा गइसक्यो। हिजो दुई वा नौ जना नेताबाट मात्रै समस्या हल हुँदाखेरी त्यसरी समाधान हुन सम्भव थियो। अब त नेकपाको समस्या तीन करोड जनतामा गइसक्यो। दसौं लाख पार्टी सदस्यमा गइसक्यो। अध्यक्षद्वयको प्रतिवेदनको विषयमा घरघरमा चर्चा भइसक्यो। हाम्रा नेताहरुको वैचारिक राजनीतिक स्तर के रहेछ भन्ने जनताले देखिसके। त्यसैले अब चोचोमोचो मिलाएर, भागबण्डा मिलाएर, पदीय भागबण्डा गरेर नेकपाको समस्या समाधान हुँदैन।
अब नेकपामा नयाँ शिराबाट बहस हुन्छ। स्थायी कमिटीमा पनि उहाँहरुको प्रतिवेदन वरिपरि मात्रै छलफल हुन्छ भन्ने कुनै जरुरी छैन। केन्द्रीय समितिमा विषय आयो भने नयाँ विकल्प दिन सक्छ। विचार, राजनीति, कार्यनीति, कार्यक्रम, अबको जिम्मेवारी, अबको कार्यभार, सिंगो कम्युनिस्ट आन्दोलनको रक्षा कसरी हुन्छ भन्ने सन्दर्भमा समग्र अवधारणा अहिले आएको छैन। त्यसरी आउने समग्र वैचारिक अवधारणाले मात्रै अहिलेको समस्या समाधान हुनसक्छ। त्यसैले टालटुले समाधानबाट नेकपा बच्ने अवस्थामा छैन।
कार्यकर्तामा रहेको पार्टी एकता होस् भन्ने भावना छ। तर भावना त विज्ञान होइन। विज्ञानको त आफ्नो नियम हुन्छ। त्यो विचारले र दर्शनले चल्छ। त्यसले भन्छ- विचार सही वा गलत हुनुले सबै कुराको फैसला गर्छ। विचार नै गलत छ भने नेकपाको विघटनलाई कसैले रोक्न सक्दैन। विचार सही छ भने कसैले फुटाउन चाहेर पनि फुट्दैन। त्यसैले आजको नेकपाको मुख्य समस्या वैचारिक हो।
वैचारिक स्तर ओली र प्रचण्डले पेश गरेको प्रस्तावले स्पष्ट गरेकै छ। उहाँहरुले एक अर्कालाई लगाएको आरोप एक अर्को दृष्टिबाट ठीकै होला। त्यति ठूला आरोप बोलेर उहाँहरुले नै अब पार्टीको नेतृत्व गर्न मिल्छ?
नैतिक हिसाबले उहाँहरुले नेतृत्वको वैधानिकता गुमाइसक्नुभयो। आफैंले गुमाउनुभएको हो। त्यसैले अहिलेको संघर्षभित्र म अर्को पुस्तालाई राम्रो अवसर आइरहेको देख्छु। हाम्रा टाकुरामा पुगेका भनिएका नेताहरुको वैचारिक राजनीतिक स्तर कति स्खलित भएको रहेछ भन्ने अहिले देखिएको छ। त्यसैले यसलाई व्यवस्थापन गर्ने ल्याकत बोकेर अर्को पुस्ता आउने हो भने नेकपालाई हाँक्ने अवसर छ। अहिले फन्डाको रुपमा भए पनि पुस्तान्तरण बहस हुन थालेको छ। त्यो फन्डा मात्रै हो, वास्तविकतामा उहाँहरु पुस्तान्तरण चाहनुहुन्न।
दोस्रो र तेस्रो पुस्ताका नेताहरुमा पनि हस्तक्षप गरेर हामी नेतृत्व लिन तयार छौं भन्ने ल्याकत र मनोबल देखिएको छैन। अर्को पुस्ताको पनि नराम्रो गरी स्खलन भएछ।
एमाले बहुपदीय प्रणालीमा गएको थियो। एकता नभएको भए एमालेको महाधिवेशन भइसक्नुपर्थ्यो। त्यहाँबाट ओली अध्यक्षमा निर्वाचित भएर आउने अवस्था थिएन। अर्को पुस्ता आउँछ भन्ने भय उहाँहरुलाई थियो। किनकि, अघिल्लो महाधिवेशनमा महासचिव, सचिव जस्ता पदमा लोकप्रिय मत लिएर अर्को पुस्ता आउनुभएको थियो। अब नेतृत्व हाम्रो हातमा आउँदैन है भनेपछि पो पार्टी मिसाउनुभएको हो कि! मिसाइदिएपछि पुराना संरचना सबै खारेज भयो। अर्को एक जना नेतालाई व्यवस्थापन गरेर शासन गर्न पाइने भयो भन्ने मनोविज्ञानको पक्ष पनि छ।
त्यसैले पुस्तान्तरणको सोच उहाँहरुमा छैन। त्यसप्रति इमानदार पनि हुनुहुन्न। फेरि मैले पुस्तान्तरण गरें भनेर हुनेवाला पनि छैन। अब पुस्तान्तरणका लागि सचेत हस्तक्षप, पहलकदमी, विचार, राजनीति सहितको पुस्तान्तरणको वातावरण बनाउनुपर्छ। त्यसको लागि अनुकूलता बनेको छ।
अब स्थायी कमिटीले हल गर्न सकेन भने केन्द्रीय कमिटीमा यो विवाद आउँछ। स्थायी कमिटीले हल गर्यो भने यो सहज वातावरणतिर जाला। भएन भने केन्द्रीय कमिटीमा आउँछ। त्यहाँ पनि विवाद दुई पक्षमा मात्रै विभाजित होला भन्ने मलाई लाग्दैन। दुई प्रतिवेदनको 'एस्' र 'नो' मात्रै विभाजित हुने म देख्दिनँ। अरु पनि थुप्रै सम्भावना छ। नेकपाको समस्याको हल गर्ने विधिको बारेमा थुप्रै ढंगले सोचिएका छन्।
त्यहाँ पनि हल भएन भने महाधिवेशनमा जान्छ। त्यहाँ अरु पनि प्रतिवेदन आउलान्। त्यसैले त्यहीँबाटै हल हुने स्थिति पनि आउनसक्छ। तर नेकपालाई अहिले नै कसैले फुटाउन चाहेर पनि फुटाउन सक्ने अवस्थामा छैन। फुटाइहाल्ने अवस्थामा थियो भने अस्ति नै फुटिसक्थ्यो। त्यसैले अहिले नेकपाको 'भिरको चिन्डो, उँधो न उँभो' भएर बसिरहेको छ। हामी त्यसलाई माथि निकाल्न चाहन्छौं। केही साथीहरुको प्रयत्न तल खसाउने छ।
मलाई लाग्छ- नेकपाको एकता बच्छ, बच्नुपर्छ। तर केही मान्छेहरुले गल्ती गर्ने, केही नेताहरुले गल्ती गर्ने तर त्यसको भागिदारचाहिँ लाखौं र करोडौं जनता हुनुपर्ने? 'धान खाने मुसो, चोट पाउने भ्यागुतो' हुन्छ? यो त उहाँहरु बीचको संघर्ष भन्ने हो भने उहाँहरुले व्यवस्थापन गर्न सक्नुपर्थ्यो। त्यसको चोट त देशले खेप्यो, जनताले खेपे, पार्टी कार्यकर्ताले खेपे। यहाँबाट हामीले नेकपालाई निकाल्नु छ।
नेकपामा पुस्तान्तरणको कुरा पनि चलिरहेको छ। तर नयाँ पुस्ताका भनिएका मन्त्री तथा मुख्यमन्त्रीहरु नै अध्यक्षद्वय मिल्छन् भने म पद छाड्न तयार छु भन्नलाई तँछाड र मछाड गरिरहनुभएको छ त?
दोस्रो र तेस्रो पुस्ताका नेताहरुमा पनि हस्तक्षप गरेर हामी नेतृत्व लिन तयार छौं भन्ने ल्याकत र मनोबल देखिएको छैन। अर्को पुस्ताको पनि नराम्रो गरी स्खलन भएछ। आत्मविश्वास, हिम्मत, जोश, जाँगर, संकल्प, विश्वास, हस्तक्षपकारी ल्याकत हराउँदै गएको रहेछ, अर्को पुस्तामा पनि। नेकपाभित्रको संघर्षमा यो देखिन्छ। तर सबै त्यस्तो मात्रै छैनन्।
दोस्रोले छाड्यो भने तेस्रोमा जान्छ। अर्को पुस्ता आउँछ। तर आउँछ। र नेकपाभित्र नयाँ शिराबाट बहस हुन्छ। विचार, राजनीति, कार्यदिशा, कार्यक्रम, नेपाल कसरी बनाउने भन्ने बहस हुन्छ। आजको कार्यक्रम के हो र मुख्यतः भोलिको कार्यक्रम के हो? हामीलाई त्यो चाहिएको छ। भोलिको विषयमा नेताहरुको दिमागमा केही पनि छैन। आजको पद, प्रतिष्ठा र कुर्सी मात्रै छ। अनि हिजोको नानाभाँती कुरा खोतलेर एकले अर्कोलाई नंग्याउने होडबाजीमा उहाँहरु हुनुहुन्छ। एकले अर्कोलाई नंग्याउँदा नंग्याउँदै नांगाहरुको नाच जस्तो हुने अवस्थामा नेकपा पुगेको छ।यो खेल बन्द गरौं। नेकपालाई बचाऔं। जनतामा फर्कौं। अर्को पुस्ताको निम्ति अविष्मरणीय र योगदान दिनसक्ने तागतको रुपमा नेकपालाई स्थापित गरौं। अझै पनि समय छ। समय सकिएपछि त रामराम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।